विराटनगर – ताप्लेजुङ जिल्लाको दोस्रो ठुलो एवं मेवा खोलामा निर्माण गरिएको सबैभन्दा ठुलो जलविद्युत आयोजना युनाइटेड मेवा खोला हाइड्रोको निर्माण ९९ प्रतिशत पुरा भएको छ । ५० मेगावाट क्षमताको यो आयोजनाले आउँदो दशैं अघि नै व्यवसायिक उत्पादन सुरु गर्ने तयारी गरेको जनाइएको छ । ९ अर्ब रुपैयाँ लागतमा निर्माणाधीन आयोजनाले भदौमा सम्पूर्ण परीक्षण सक्ने लक्ष्यका साथ काम गरिरहेको आयोजनाले जनाएको छ ।

आयोजनाको विद्युत् गृह, सुरुङमार्ग, टर्वाइन जडानको काम अन्तिम चरणमा रहेको युनाइटेड मेवा खोला हाइड्रो पावर कम्पनीका डेपुटी प्रोजेक्ट मेनेजर दिपेश अधिकारीले जानकारी दिए । ‘आयोजना निर्माण सम्पन्न हुने अन्तिम चरणमा रहेको छ, ९८.५ भौतिक र ९२ आर्थिक प्रगति पुरा भएको छ’ अधिकारीले भने, ‘दशैंभन्दा अगाडि नै राष्ट्रिय गृडमा जोड्ने तयारी छ, अर्को हप्तादेखि ड्राई टेष्ट सुरु हुन्छ ।’

उनले आगामी अगस्टमा २० मा टनेलमा पानी पठाएर सुरुङ परीक्षण गरिने जानकारी दिए । ताप्लेजुङको मेरिङ्देन गाउँपालिका–५ थुकिमा र मिक्वाखोला गाउँपालिका–३ लिवाङको सीमाना भएर बग्ने मेवा खोलामा हाइड्रोको बाँध रहेको छ।
बाँधबाट ४ दशमलव ८ किलोमिटर लामो सुरुङमार्गबाट पानी पठाएर मेरिङ्देन गाउँपालिका–३ खाम्लुङमा रहेको पावर हाउसमा झारेर विद्युत उत्पादन गरिने जनाइएको छ । पावर हाउसमा जडान गरिएका तीनवटा सीओएल टर्वाइनबाट विद्युत उत्पादन हुनेछ । टर्वाइन जडान अन्तिम चरणमा रहेको अधिकारीले जानकारी दिए ।

युनाइटेड मेवाबाट उत्पादन हुने विद्युतलाई आठ किलोमिटर लामो १३२ केभिए प्रसारण लाइनमार्फत मेवाखोला गाउँपालिका–१ ढुंगेसाँघुमा रहेको सबस्टेसनमा जोडिने छ ।उक्त सबस्टेशनबाट कोसी करिडोर प्रसारण लाइनमार्फत राष्ट्रिय ग्रिडमा विद्युत प्रवाह हुनेछ । आयोजना रनअफ रिभर (आरओरआर) प्रणालीमा आधारित हो । ताप्लेजुङमा ७३ मेगावाट क्षमताको सबैभन्दा ठुलो मध्य तमोर जलविद्युत् आयोजनाले यसअघि नै विद्युत उत्पादन गरिरहेको छ ।




About Us
प्रतिक्रिया