बुङ्गल हाइड्रोको आईपीओमा आवेदन दिने आज अन्तिम दिन


काठमाडौं –  बुङ्गल हाइड्रो लिमिटेडले असार २९ गतेदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन गरेको आईपीओमा आवेदन दिने आज साउन ११ गते अन्तिम दिन रहेको छ ।  स्थानीय बासिन्दाका लागि आवेदन दिने अवधि लम्बिएको छ। आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरूले अब कम्पनीको आईपीओमा साउन २६ गतेसम्म आवेदन दिन सक्नेछन्।  

कम्पनीले जारी पुँजी ८३ करोड रुपैयाँको ३५ प्रतिशत अर्थात् २९ करोड ५ लाख रुपैयाँ बराबरको २९ लाख ५ हजार कित्ता शेयर निष्कासन गर्ने अनुमति पाएको थियो। जसमध्ये ८ करोड ३० लाख रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ दरका ८ लाख ३० हजार ८२४ कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूका लागि निष्कासन गरेको हो।

आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरूका लागि छुट्याइएको शेयरमध्ये ६५ प्रतिशत अति प्रभावित क्षेत्र अर्थात् सुदूर पश्चिम प्रदेश, बझाङ जिल्ला, बुङ्गल नगरपालिका वडा नं.६ साविक पिपलकोट, गाविस वडा नं. ४, ५ र ७० र वडा नं.७ (साविक कफल्सेरी गाविस वडा नं. १-का) बासिन्दाहरूमा बाँडफाँट गरिनेछ भने बाँकी ३५ प्रतिशत सामान्य प्रभावित क्षेत्र अर्थात् बझाङ जिल्ला, बुङ्गल नगरपालिका १, २, ३, ४, ५, ८, ९ १० र ११ का बासिन्दाहरूका लागि बाँडफाँट गरिनेछ।

यसका साथै सर्वसाधारण लगानीकर्ताहरूका लागि छुटाइएको शेयरको १० प्रतिशतले हुन आउने २ करोड ७ लाख ५० हजार रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित दरका २ लाख ७ हजार ५०० कित्ता साधारण शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीहरूका लागि निष्कासन गरेको हो।  

साथै, स्थानीय बासिन्दाका लागि आवेदन दिने अवधि भने लम्बिएको छ। आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरूबाट माग बमोजिम दरखास्त प्राप्त नभएकाले आईपीओ निष्कासन बिक्री खुलाको अवधि लम्बाएको छ । जसमा अब कम्पनीको आईपीओमा साउन २६ गतेसम्म आवेदन दिन सक्नेछन्।