काठमाडौं – बेरोजगार युवायुवतीहरूलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागि विभिन्न देशहरूमा लैजाने भन्दै ठगी गर्ने पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा लमजुङको दुधपोखरी– ४ घर भई काठमाडौं टोखा बस्ने ३५ वर्षीय साजन गुरुङ, रुपन्देहीको तिलोतमा– १ घर भई ललितपुरको महालक्ष्मी बस्ने ३६ वर्षीय दिपक थापा, दाङको घोराही घर भई काठमाडौंको कागेश्वरी मनोहरा बस्ने ४७ वर्षीय टेक बहादुर केसी, स्याङजाको वालिङ घर भई ललितपुरको ललितपुर महानगरपलिका – २३ बस्ने ५० वर्षीय भरत प्रसाद पाण्डे र पर्वतको विहादी घर भई भक्तपुरको मध्यपुर थिमी बस्ने ३८ वर्षीय प्रेम प्रसाद भुषाल रहेका छन् ।
पक्राउ परेकामध्ये गुरुङले जर्मन पठाइदिन्छु भन्दै १ जनासँग १२ लाख ८० हजार, थापाले ३ जनालाई जर्जिया पठाइदिन्छु भन्दै ६ लाख , केसीले ग्रिस पठाइदिन्छु भन्दै ६ जनासँग २१ लाख, पाण्डेले कोरिया पठाइदिन्छु भन्दै ३ जनासँग २० लाख र भुषालले कोरिया पठाइदिन्छु भन्दै ३३ लाख ५० पचास हजार ठगी गरेको प्रहरीले जनाएको छ ।
त्यस्तै, अनुसन्धानका क्रममा पाण्डे जिल्ला प्रहरी कार्यालय कास्कीमा ५ लाख बिगो भएको बैंकिङ्ग कसुर मुद्दामा फरार रहेको छ। भने भुषाल विरुद्ध प्रहरी वृत्त स्वयम्भूमा ६ लाख ५० हजारको बैंकिङ्ग कसुर सम्बन्धी मुद्दा र प्रहरी वृत्त गौशालामा ३ लाख बिगो भएको बैंकिङ्ग कसुर मुद्दामा फरार रहेको खुल्न आएको छ ।
उनीहरूलाई काठमाडौं उपत्यकाका विभिन्न स्थानहरूबाट पक्राउ गरी थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाडौंमा पठाइएको प्रहरीले बताएको छ ।



About Us
प्रतिक्रिया