नेपाली सेनाका तालिमरत अधिकृतहरूबाट नेपाल प्रहरी प्रधान कार्यालयको अवलोकन भ्रमण सम्पन्न


काठमाडौं – नेपाली सैनिक वार कलेज नगरकोटमा सञ्चालित सि.सं.६ अल आर्म्स कमाण्ड तथा स्टाफका तालिमरत ४६ जना अधिकृतहरूबाट नेपाल प्रहरी प्रधान कार्यालयको बिहीबार अवलोकन भ्रमण सम्पन्न भएको छ । 

अवलोकन भ्रमणमा सहभागीहरूलाई नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक विनोद घिमिरेले स्वागत गरेका थिए । सो क्रममा सहभागी सैनिक अधिकृतहरूले नेपाल प्रहरी प्रधान कार्यालयस्थित डाटा सेन्टर, पोलिग्राफ शाखा, डिजिटल फरेन्सिक ल्याब र सङ्ग्रहालय समेतको अवलोकन गरे ।

अवलोकन पश्चात् आयोजित कार्यक्रममा नेपाल प्रहरीका सह–प्रवक्ता तथा सूचना अधिकारी प्रहरी वरिष्ठ उपरीक्षक रमेश थापाले नेपाल प्रहरीको परिचय, विकास क्रम, काम, कर्तव्य र वर्तमान अवस्था, नेपाली सेना र नेपाल प्रहरी बिचको समन्वय तथा सहकार्यको क्षेत्र लगायतका विषयमा प्रस्तुतीकरण गरेका थिए । 

साथै, उनले अन्तरक्रियाको क्रममा तालिमरत अधिकृतहरूले नेपाल प्रहरी सम्बन्धी विविध विषयमा राखेका जिज्ञासाहरूको निरूपण समेत गरेका थिए  । सो कार्यक्रममा सेनानी मनोज सुबेदीले भ्रमणमा सहभागी तालिमरत अधिकृतहरूको तर्फबाट धन्यवाद सहितको मन्तव्य व्यक्त गरेका थिए ।