विराटनगर – संघीय सरकारका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी समक्ष विराटनगरका युवा उद्यमीहरूले ज्ञापन पत्रमार्फत उद्यमशीलताको अवसर सिर्जना गर्न आग्रह गरेका छन् । नेपाली युवा उद्यमी मञ्च (एनवाईईएफ) विराटनगर च्याप्टरका अध्यक्ष सञ्जीव सिग्देलको नेतृत्वमा काठमाडौं पुगेका युवा उद्यमीहरूले मन्त्री भण्डारी समक्ष पाँच बुँदे ज्ञापन पत्र बुझाएका हुन् ।
उनीहरूले युवा उद्यमीका समस्या समाधान गर्न मन्त्री भण्डारीलाई आग्रह गर्दै युवा लक्षित उद्यमशीलताको विकासका निम्ति नीति तथा कानूनी सुधार, वित्तीय पहुँचको स्थापना, सीप र प्रविधिमा पहुँच, बजार पहुँच र प्रोत्साहन तथा ‘इकोनोमिक इकोसिस्टम’ विकास जस्ता विषय उठाएका हुन् । युवा उद्यमीहरूलाई राष्ट्र निर्माणको मेरुदण्डका रूपमा सरकारले स्वीकार गर्दै युवाहरूलाई लक्षित कार्यक्रम सञ्चालन गर्न आग्रह गरिएको अध्यक्ष सिग्देलले बताए ।
ज्ञापनपत्र बुझ्दै मन्त्री भण्डारीले युवा उद्यमीहरूका जायज माग र सुझावहरूलाई सकारात्मक रूपमा लिएको बताए । मन्त्री भण्डारीले युवा उद्यमीले उठाएका विषयलाई छलफल लैजाने र यथासक्दो चाँडो कार्यान्वयन गर्ने आश्वासन दिएको अध्यक्ष सिग्देलले बताए । मन्त्री भण्डारीले युवाहरूलाई स्वदेशमै अथाह सम्भावना रहेकोले उद्यमशीलतामार्फत रोजगारी सृजना गर्न र उद्यमशीलतामै केन्द्रित हुन पनि सुझाव दिएको जनाइएको छ ।



About Us
प्रतिक्रिया