रोटरी काठमाडौं हेरिटेजद्वारा वृक्षारोपन तथा बाग्मती सरसफाई कार्यक्रम


काठमाडौं – रोटरी काठमाडौं हेरिटेजले वृक्षारोपण तथा बाग्मती सरसफाइ कार्यक्रम सम्पन्न गरेको छ । काठमाडौंकाे गुह्येश्वरीस्थित बाग्मती नदिकाे किनार वरपर क्लबले अधिकार सम्पन्न बाग्मती आयोजनाका अभियन्ताहरुको सहयोगमा विभिन्न प्रजातिका १५० बिरुवाहरू रोपिनुको साथै बाग्मती सरसफाइ पनि गरेको हो ।

रोटरी क्लब इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ का वातावरण समितिका प्रमुख ध्रुव आचार्य, अधिकार सम्पन्न बाग्मती आयोजनाका पूर्वप्रमुख उद्धव तिम्सिना र हालका पदाधिकारी प्रकाश अर्यालको विशेष आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा बाग्मती आयोजनाका अभियन्ताहरू, बाल सारथि एकेडेमीका विद्यार्थीहरू, स्थानीयहरू, क्लबका सदस्यहरू तथा उनीहरूका परिवारका सदस्यहरू गरी करिब ५० जनाको सहभागिता रहेको थियो । 

क्लबका अध्यक्ष कृष्ण प्रसाद शर्माको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रमको सञ्चालन क्लबका सचिव चिजन पौडेलले र कार्यक्रमको संयोजन क्लबका पब्लिक इमेज चेयर डा. माला खरेलले गरेका थिए भने बाग्मती अभियानका थानेश्वर भट्टले बिरुवाहरू उपलब्ध गराउनको लागि सहयोग गरेका थिए । कार्यक्रममा  बाग्मती सफाइ अभियानका अभियानकर्ताहरूले रोपिएका बिरुवाहरूको गोडमेल तथा संरक्षण गर्ने जिम्मेवारी लिने प्रतिबद्धता जाहेर गरेका थिए भने क्लबका प्रेसिडेन्ट नोमिनी पुण्य प्रसाद न्यौपानेले उपस्थित सबैलाई धन्यवाद ज्ञापन गरेका थिए ।

अहिले विश्वमा बढ्दो तापक्रमले नकारात्मक असर गरिरहेको र वातावरण संरक्षणलाई विभिन्न देशहरूले प्राथमिकता दिँदै आएको सन्दर्भमा नेपालले पनि यसलाई प्राथमिकता दिएर विश्वमा नै उदाहरणीय देश बन्न सक्ने अवसर रहेको र वातावरण संरक्षकका यस्ता कार्यक्रमहरूले देशको पर्यटन लगायत अन्य विभिन्न आर्थिक क्षेत्रलाई समेत सकारात्मक प्रभाव पारेर देशको दिगो आर्थिक विकासमा समेत मद्दत गर्ने क्लबले विश्वास रहेको र रोटरी क्लब इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ ले समेत यस वर्ष ५० हजार वृक्षारोपण गर्ने लक्ष्य लिएकोले क्लबले यो कार्यक्रम आयोजना गरेको र भविष्यमा पनि यस्ता विभिन्न कार्यक्रम आयोजना गर्ने क्लबले जनाएको छ ।