तेह्रथुम पावरको हकप्रद शेयरमा आवेदन दिने अवधि थप


काठमाडौं – तेह्रथुम पावर कम्पनी लिमिटेडको शतप्रतिशत हकप्रद शेयरमा आवेदन दिने अवधि थप गरेको छ । कम्पनी यसअघि साउन ४ गते (आज) सम्मका लागि निष्कासन तथा बिक्री खुला गरेको हकप्रद शेयरमा मागअनुसारको आवेदन नपरेकाले कम्पनीले ७ दिन समय थप गरी साउन ११ गतेसम्मका लागि आवेदन खुला गरेको हो । 

नेपाल धितोपत्र बोर्डले कम्पनीलाई हाल कायम चुक्ता पुँजी ४० करोड रुपैयाँको १ः१ अनुपातमा अर्थात् १०० प्रतिशत हकप्रद शेयर जारी गर्न अनुमति दिएको छ। योसँगै कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ४० लाख कित्ता हकप्रद शेयर आफ्ना शेयरधनीहरुलाई बिक्री खुला गरेको छ।

आवेदन दिन इच्छुक लगानीकर्ताले धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था, तिनले तोकेका शाखा र सीडीएससीको मेरो शेयरबाट आवेदन दिन सक्नेछन्।

धितोपत्र बिक्री प्रबन्ध नबिल इन्भेस्टमेन्ट बैंकिङ्गको काठमाडौं नक्सालस्थित कार्यालय, नबिल बैंकको तेह्रथुममा रहेका शाखाहरु छत्तर, म्याङ्लुङ, फेदाप र संक्रान्तिबजार तथा तेह्रथुमको मेन्छयाममा रहेको कुमारी बैंकको शाखाबाट पनि शेयरधनीहरुले हकप्रद शेयरमा आवेदन दिन सक्नेछन्।

कम्पनीले हकप्रद शेयर निष्कासनका लागि गत जेठ ५ गते बुक क्लोज गरेको थियो। जसमा जेठ ४ गतेसम्म कायम शेयरधनीहरुले मात्रै यो हकप्रदमा आवेदन दिन पाउनेछन्।