मन्त्रिपरिषद् बैठकले छानबिन समिती गठन गरेसंगै प्राधिकरणका अध्यक्ष ओझा निलम्बित


काठमाडौं – नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझा निलम्बित भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अध्यक्ष ओझामाथी छानबिन गर्न पूर्वन्यायाधीश कृष्ण गिरीको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेसङ्गै निलम्बित भएका हुन् ।

छानबिन समिति गठन भएसँगै ओझा स्वतः निलम्बित भएका छन् । छानबिन समितिमा गिरीसँगै अन्य दुई सदस्यमा कपिलदेव ओली र जीवनप्रकाश सिटौला छन् ।

बीमा ऐन २०७९ को दफा १२ को उपदफा ३ मा अध्यक्ष वा सदस्यको हकमा छानबिन समिति गठन भएमा स्वतः निलम्बन हुने व्यवस्था छ । मन्त्रिपरिषद्ले अध्यक्ष ओझालाई पदमुक्त गर्ने प्रयोजनका लागि छानबिन समिति गठन गरेको हो ।

ऐनको दफा १२ को उपदफा १ को खण्ड ‘ग’ मा खराब आचरण, कार्यक्षमताको अभाव वा पदीय जिम्मेवारी पालना नगरेको आधारमा अध्यक्ष वा सदस्यलाई नेपाल सरकारले पदमुक्त गर्न सक्ने व्यवस्था छ ।

प्रधानमन्त्री केपी शर्मा ओलि नेतृत्वकाे सरकारले नै बीमा प्राधिकरणका अध्यक्षमा ओझालाई नियुक्त गरेको थियो । तर,उनको योग्यताको विषयलाई लिएर प्रश्न उठेपछि आफैले नियुक्ति दिएको व्यक्तिलाई ओलि सरकारले नै निलम्बन गरेको हो । ओझाले प्राधिकरणको अध्यक्षमा नियुक्त हुन फर्जी कागजात बुझाएको आरोप छ ।