काठमाडौं – काठमाडौं उपत्यकाको विभिन्न स्थान र मितिमा चोरी भएका २० ओटा दुई पाङग्रे सवारी साधन (मोटरसाइकल र स्कुटर) खोजतलास गरी काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले सोमबार सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा आयोजित एक कार्यक्रमका बिच कार्यालय प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले १२ ओटा मोटरसाइकल र ८ ओटा स्कुटर सम्बन्धित धनीलाई आज हस्तान्तरण गरेका हुन् ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा प्राप्त निवेदनका आधारमा खोजी गर्ने क्रममा केही वास्तविक नम्बर प्लेटमा र केही नक्कली नम्बर प्लेट राखेको अवस्थामा काठमाडौं उपत्यकाका नरेफाँट, मिलनचोक, सुन्दरीजल, चाबहिल, मध्यबानेश्वर, मालिगाँउ, काडाँघारी, कालिमाटी, अनामनगर, सिंहदरबार, नेपालटार, नयाँबसपार्क, बसुन्धारा र थली लगायतका स्थानबाट उक्त सवारी साधन ट्राफिक प्रहरीले फेला पारेको थियो ।
आज बुझाइएका २० ओटा सहित ४ सय ८० ओटा सवारी साधन गत साउन महिना देखी आजसम्म ट्राफिक प्रहरीले धनीलाई जिम्मा लगाइसकेको छ भने चोरीका ५१ ओटा दुई पाङ्ग्रे सवारी साधन सहित चोरीमा संलग्न ७४ जना व्यक्तिहरूलाई पनि आवश्यक कारबाहीका लागि विभिन्न प्रहरी परिसर तथा प्रहरी वृत्तमा पठाइएको छ । सवारी साधन जिम्मा लिए पश्चात् सवारी धनीहरूले खुसी व्यक्त गर्दै सामूहिक रूपमा ट्राफिक प्रहरीलाई धन्यवाद समेत दिएका थिए ।
आर्थिक वर्ष २०७९/०८० मा ४९९ ओटा, ०८०/०८१ मा ४१७ ओटा र ०८१/०८२ को आज सम्ममा ४ सय ८० ओटा दुई पाङ्ग्रे सवारी साधन खोजतलास गरी ट्राफिक प्रहरीले सम्बन्धित धनीलाई जिम्मा लगाएको छ । सवारी साधन चोरी तथा हराउनबाट रोक्न आफ्नो सवारी साधन सुरक्षित स्थानमा पार्किङ गरी, ह्वील लक, चेन लक, ह्यान्डिल लक, डिस्क लक, लगायत सुरक्षा साइरनहरु जडान गर्न साथै मानिसहरूको आवत-जावत नहुने एकान्त स्थानमा पार्किङ नगर्न काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक दीपक गिरीले अनुरोध समेत गरेका छन् ।






About Us
प्रतिक्रिया