काठमाडौं – केन्द्रीय बैंकले लघुवित्त वित्तीय संस्थाले दिने कर्जाको ब्याजदरमा नयाँ व्यवस्था कायम गरेको छ। नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षामार्फत ल्याएको व्यवस्था कार्यान्वयन गरेको हो । याेसँगै लघुवित्त वित्तीय संस्थाले आगामी आर्थिक वर्ष देखि कर्जाको ब्याजदर निर्धारण गर्दा वाणिज्य बैंकको औसत ‘आधार दर’ लाई मुख्य आधार बनाउनु पर्ने भएको छ ।
राष्ट्र बैंकका अनुसार लघुवित्तहरुलाई हालसम्म प्रवाह भएको तथा बक्यौता ब्याजमा १५ प्रतिशत नै लिनुपर्नेछ । यस्तै, लघुवित्तहरुले आफ्नो आधार दरमा बढीमा ३ प्रतिशत विन्दुसम्म प्रिमियम थप गर्दा हुन आउने ब्याजदर र वाणिज्य बैंकहरुको पछिल्लो मासिक औसत आधार दरमा ९ प्रतिशत विन्दु थप गर्दा हुन आउने ब्याजदरमध्ये जुन कम हुन्छ सो दरको सीमाभित्र रहेर ग्राहकसँग कर्जामा लिने ब्याजदर निर्धारण गर्नु पर्नेछ ।
लघुवित्तहरुले मासिकरुपमा आधार दर तयार गरी महिना समाप्त भएको १५ दिनभित्र राष्ट्र बैंकमा पेश गर्नुपर्ने छ । साथै, आधार दर मासिक रुपमा आफ्नो वेबसाइटमा प्रकाशन गर्नु पर्नेछ । यस्तै, कर्जा प्रवाह गर्दा ऋणीसँग गरिने सम्झौतामा वार्षिक पेनाल/हर्जाना ब्याजदर २ प्रतिशत भन्दा बढी नहुने गरी उल्लेख गर्नु पर्नेछ ।
ब्याजदर निर्धारण गर्दा लघुवित्त वित्तीय संस्थाहरुले आफ्नो पछिल्लो तीन महिनाको प्रकाशित औसत आधार दरमा प्रिमियम थप गरी निर्धारण गर्नु पर्ने ब्यवस्था केन्द्रीय बैंकले गरेको छ ।



About Us
प्रतिक्रिया