काठमाडौं – नेपाली काँग्रेसका नेता एनपी साउदले ०८४ सालमा हुने भनिएको निर्वाचनका लागि पार्टी तयार नभएको बताएका छन् । ललितपुरको सानेपामा जारी केन्द्रीय कार्यसमिति बैठकमा आइतबार बोल्दै नेता साउदले पार्टीको समग्र अवस्थाप्रति गम्भीर चिन्ता व्यक्त गरेका हुन् ।
उनले वर्तमान राजनीतिक परिदृश्यमा काँग्रेसले संवेदनशील र सक्रिय भूमिका निर्वाह गर्न नसकेको भन्दै पार्टी सङ्गठन कमजोर बन्दै गएको चेतावनी दिए। साउदले भने, ‘राजनीतिक दलहरूमा आक्रमण बढ्दै गएको छ। यो केवल दलहरूमा होइन, संविधानमाथि नै आक्रमण गर्ने प्रयास भइरहेको छ। यस्तो अवस्थामा नेपाली काँग्रेसले स्पष्ट आवाज उठाउनुपर्छ।’
उनले आसन्न २०८४ को निर्वाचनलाई सङ्केत गर्दै पार्टी कुनै कोणबाट तयार नभएको बताए । ‘हेर्दा हेर्दै ०८४ पनि नजिक आइसकेको छ। तर काँग्रेस त्यसका लागि तयारी अवस्थामा छैन। गैर काँग्रेस मतहरूसँगको दूरी पनि बढिरहेको छ, जुन हाम्रो मत घट्ने सङ्केत हो।’
साउदले सङ्गठनात्मक कमजोरीतर्फ पनि ध्यानाकर्षण गराउँदै पार्टीको आधार तह कमजोर भएको बताए। ‘मैले केन्द्रीय कार्यसमितिबाट प्रतिनिधित्व गरेको सर्लाहीमा १४ औँ महाधिवेशनपछि आजसम्म बैठक नै भएको छैन। अधिवेशनसमेत अधुरो छ,’ उनले भने।
दुई तिहाइको हैसियत पाएको केपी शर्मा ओली नेतृत्वको सरकारले सात बुँदे सहमतिअनुसार संविधान संशोधनको प्रक्रियामा ढिलाइ गरेकोप्रति पनि उनले आलोचना गरे। ‘दुई तिहाइको सरकार बनेपछि सहमतिअनुसार संविधान संशोधनबारे छलफल अघि बढ्नुपर्थ्यो, त्यसमा ढिलाइ भएको छ,’ उनले भने । उनले पार्टीका शीर्ष नेताहरू देशभर घुमिरहे पनि सङ्गठन बलियो नबनेसम्म काँग्रेस सशक्त नबन्ने बताए।






About Us
प्रतिक्रिया