ललितपुर महानगरले गरिदियो एकल महिला र सरसफाइकर्मीको स्वास्थ्य बीमा


ललितपुर – ललितपुर महानगरपालिकाले नगर क्षेत्रभित्रका एकल महिला र सरसफाइकर्मीको स्वास्थ्य सुरक्षालाई प्राथमिकतामा राख्दै पूर्ण रुपमा स्वास्थ्य बीमा गरिदिएको छ।

बुधबार स्वास्थ्य बिमा बोर्डसँग सम्झौता गर्दै महानगरले बिमा प्रिमियमको रूपमा एक करोड रुपैयाँ भुक्तानी गरेको हो। सम्झौतामा महानगरप्रमुख चिरीबाबु महर्जन र बीमा बोर्डका कार्यकारी निर्देशक रघुराज काफ्लेले हस्ताक्षर गरेका छन्।

यस सम्झौताअनुसार महानगरले आफ्ना नगर प्रहरी, सरसफाइकर्मी, सवारी चालक, टोल स्वास्थ्य उत्प्रेरक(THP) तथा महानगरभित्र बसोबास गर्ने एकल महिलाको स्वास्थ्य बीमा शुल्क शतप्रतिशत व्यहोर्नेछ।

महानगरले दुई वर्षअघिदेखि पाटन अस्पतालको प्राविधिक सहयोगमा स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गरिरहेको छ। महानगरप्रमुख चिरीबाबु महर्जनले महानगरवासीको स्वास्थ्य उपचारका लागि हरसम्भव प्रयास गरिएको बताए।