बैंकिङ्ग प्रणालीमा एकैदिन ८ अर्ब निक्षेप थपियो, कर्जाको माग बढेन


काठमाडौं– पछिल्लो समय बैंकिङ्ग प्रणालीमा निक्षेप थपिने क्रम जारी रहेको छ । केन्द्रीय बैंकको असार १२ र १३ गते तथ्यांकले बैंकिङ्ग प्रणालीको निक्षेप एकैदिन ८ अर्ब रुपैयाँले बढेको देखाएको हो । 

बैंकिङ्ग प्रणालीमा असार ११ गतेसम्म ७० खर्ब ३५ अर्ब रुपैयाँ निक्षेप संकलन भएकोमा भोलिपल्ट बढेर  ७० खर्ब ४३ अर्ब रुपैयाँ पुगेको छ । यस्तै, सो समयमा वाणिज्य बैंकहरूको  निक्षेपमा पनि ९ अर्ब रुपैयाँले बढेको छ । 

सो समयमा कर्जा प्रवाहमा भने झिनो रकमको सुधार देखिएको छ । असार ११ गतेसम्म ५५ खर्ब ७४ अर्ब रूपैयाँ कर्जा प्रवाह भएकोमा भोलिपल्ट १ अर्बले बढेको छ । सो समयमा वाणिज्य बैंकहरूले प्रवाह गर्ने कर्जा पनि १ अर्ब रूपैयाँले नै बढेको छ । 

सो समयमा अन्तर बैंक ब्याजदर ३ प्रतिशत र सिडी रेसियो ७८.५ प्रतिशत रहेको छ ।