साढे २ करोड बराबरको पाँच वटा बैंकिङ्ग कसुरका मुद्दा लागेका व्यक्ति पक्राउ, २० लाख जरिवाना 


काठमाडौं – बैंकिङ्ग कसुर मुद्दाका एक जना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा रामेछाप खाँडादेवी २ घर भई हाल काठमाडौं १४ कलङ्की बस्ने ४७ वर्षीय खड्ग बहादुर कार्की रहेका छन्। 

कार्कीलाई काठमाडौं उपत्यका अपराध अनुसन्धानबाट खटिएका प्रहरीको टोलीले काठमाडौंको बल्खुबाट पक्राउ गरेको हो । उनलाई ५ वटा बैंकिङ्ग कसुरका मुद्दा लागेको प्रहरीले जनाएको छ । उनलाई काठमाडौं जिल्ला अदालत बबरमहलले २०८० फागुन २२ गते १० दिन कैद र बीस लाख जरिवाना ठहर गरिसकेको प्रहरीले जनाएको छ ।

उनको विरुद्धमा २०७९ फागुन ८ गते  प्रहरी वृत्त मालीगाँउ, काठमाडौंमा बैंकिङ्ग कसुरको मुद्दा दर्ता भएको थियो । भने उक्त वृत्तमा पुनः उनी विरुद्ध २०७९ चैत १२ गते अर्को मुद्दा दर्ता भएको थियो । कार्कीको विरुद्धमा त्यस वर्ष २० लाख र २ लाख रुपैयाँ गरी दुई पटक बैकिङ्ग कसुरको मुद्दा दर्ता भैसकेको प्रहरीले जनाएको छ । 

साथै, कार्कीविरुद्ध २०८० साल मंसिर २४ गते ८० लाख रुपैयाँ बराबरको बैंकिङ्ग कसुर गरेको मुद्दा जिल्ला प्रहरी परिसर काठमाडौंमा दर्ता भएको पाइएको प्रहरीले जनाएको छ । उनीविरुद्ध २०८१ साल मंसिर ४ गते पुनः जिल्ला प्रहरी परिसर काठमाडौंमा मुद्दा दर्ता भएको थियो । 

त्यस्तै, यस वर्षको गत जेठ १२ गते पनि उनीविरुद्ध १ करोड २८ लाख रुपैयाँ बराकरको बैंकिङ्ग कसुरको मुद्दा दर्ता भएको प्रहरी जनाएको छ । उनीविरुद्ध ५ पटक गरी कुल २ करोड ३४ लाख ५० हजार रुपैयाँ बैंकिङ्ग कसुर गरेको खुल्न आएको प्रहरीले जनाएको छ । कार्की २०७९ सालबाट बैंकिङ्ग कसुरमा संलग्न रहेको खुल्न आएको छ । 

उनलाई काठमाडौंको बल्खुबाट पक्राउ गरी फैसला कार्यान्वयनका लागि सम्मानित काठमाडौं जिल्ला अदालत, बबरमहल पठाइएको प्रहरीले जनाएको छ ।