तरलता व्यवस्थापन चुनौतीपूर्ण बन्दै, ३० अर्ब तान्दै राष्ट्र बैंक


काठमाडौं – नेपाल राष्ट्र बैंकलाई बैंकिङ्ग क्षेत्रमा रहेको तरलता व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको छ । बैंकबाट हुने कर्जा लगानीमा सुधार हुन नसक्दा बैंकिङ्ग प्रणालीमा तरलता थुप्रिने क्रम बढेको हो ।

बैंक तथा वित्तीय संस्थामा तरलता संकलन हुने क्रम बढ्दै जाँदा आज पुन: नेपाल राष्ट्र बैंकले बैंकिङ्ग प्रणलीबाट ३० अर्ब तरलता खिच्न लागेको छ । केन्द्रीय बैंकले तरलता व्यवस्थापन गर्ने भन्दै ३० अर्ब निक्षेप संकलन गर्न लागेको बताएको हो ।

राष्ट्र बैंकले ६३ दिनको लागि निक्षेप संकलन उपकरणको बोलकबोल तथा निष्काशन गर्ने भएको हो । केन्द्रीय बैंकले असार १५ गते मध्यान्ह ३ बजेसम्म अनलाईन मार्फत मात्र बोलकबोल हुने बताएको हो । केन्द्रीय बैंकले घटीमा १० करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आव्हान रकमसम्म बोलकबोल गर्न सक्ने बताएको हो ।

निक्षेप संकलनकोलागि आव्हान गरिएको रकम बाँडफाँड गर्दा बोल बमोजिम सबैभन्दा कम ब्याजदरलाई पहिलो प्राथमिकता क्रममा राखी आव्हान गरेको रकमसम्म क्रमशः बाँडफाँड गरिने केन्द्रीय बैंकले जनाएकाे छ ।