घुम्न सौखिन नेपाली, १० महिनामा विदेश घुमेर ७३ अर्ब खर्चिए


काठमाडौं – नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो १० महिनाको तथ्यांकले नेपालबाट विदेश घुम्न जाने नेपालीले ७३ अर्ब रुपैयाँ खर्च गरेका छन् । केन्द्रीय बैंकले सार्वजनिक गरेकाे वैशाखसम्मकाे तथ्यांकले साे खर्च भएकाे देखाएकाे हाे ।

यस्तै, साे अवधिमा चालु आर्थिक वर्षको वैशाख महिसान्तसम्मको अवधिमा विदेशबाट नेपाल घुम्न आउने पर्यटकबाट नेपालले ७५ अर्ब ७१ करोड रुपैयाँ आम्दानी गरेको छ । समीक्षा अवधिमा नपालको खुद सेवा आय ८६ अर्ब ५३ करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा खुद सेवा आय ५० अर्ब ३१ करोडले घाटामा रहेको थियो ।

सेवा खाताअन्तर्गत समीक्षा अवधिमा भ्रमण आय ८.६ प्रतिशतले वृद्धि भई ७५ अर्ब ७१ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ६९ अर्ब ७३ करोड रुपैयाँ रहेको थियो । समीक्षा अवधिमा सेवा खाताअन्तर्गत भ्रमण व्यय १७.९ प्रतिशतले वृद्धि भई १८५ अर्ब ३ करोड रूपैयाँ पुगेको छ ।

यसमध्ये शिक्षातर्फ व्यय ११२ अर्ब ४४ करोड रूपैयाँ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा भ्रमण व्यय १५६ अर्ब ९५ करोड रहेकोमा शिक्षातर्फको व्यय १०४ अर्ब २५ करोड रुपैयाँ रहेको थियो ।