थाइल्याण्डकाे बैंकको मेनेजर बताउँदै ६२ लाख ७५ हजार ठगी गर्ने एक जना पक्राउ


काठमाडौं – सामाजिक सञ्जाल फेसबुकमा फेक अकाउन्ट बनाएर ठगी गर्ने एक जना व्यक्तिलाई जिल्ला प्रहरी कार्यालय सुनसरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनसरीका देवान गन्ज गाउँपालिका १ बस्ने २० वर्षीय कुशेश्वर मेहता रहेका छन् ।

लामो समयदेखि फरार रहेका मेहतालाई खोजतलास गर्ने क्रममा सुनसरी जिल्ला प्रहरी कार्यालयको युवराज खतिवडाको नेतृत्वमा खटिएको प्रहरी टोलीले १० गते बेलुका सुनसरीको कोशी गाउँपालिकाको भण्टाबारीस्थित नेपाल भारत सिमानाबाट पक्राउ गरेकाे हाे ।

प्रवक्ता खतिवडाका अनुसार मेहता लामो समयबाट भारतमा लुकीछिपी बस्दै आइरहेका थिए । उनले फेसबुकमा भानिदा सुवान नाम गरेको फेक अकाउन्ट बनाएर फेसबुकको मेसेन्जरमा आफ्नो नाम फुयाङ भानिडा बताउने गरेको सुनसरी जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी योगराज खतिवडाले बताएका छन् । 

प्रवक्ता खतिवडाले बैंकिङ्ग समाचारसँग कुरा गर्दै भने’मेहताले थाइल्याण्डकाे सियाम कमर्शियल बैकको मेनेजर हो यहाँ एलेन अर्बी शाहीको नाममा यस बैंकमा खाता छ । उसको सम्पत्ति खाने कोही व्यक्ति छैन, हजुरको जातसँग उसको जात मिल्ने भएकाले उक्त व्यक्तिको खातामा भएको सम्पूर्ण रकम तपाईँको हुन्छ भन्दै कुर्मराज शाहीलाई ठगी गरेको खुल्न आएको छ ।’

मेहताले शाहीलाई उक्त व्यक्तिको अपुतालीको सम्पत्ति खाने कोही नभएको बताएका थिए । त्यस्तै, विभिन्न कुराहरूको विश्वास दिलाई आफ्नो नाममा रहेको विभिन्न बैंक खाताहरूमा पटक-पटक गरी ६२ लाख पचहत्तर हजार रुपैयाँ पठाउन लगाएको खुल्न आएको प्रवक्ता खतिवडाले बताए । मेहतालाई पक्राउ गरी मुलुकी अपराध संहिता, २७४ को दफा २४९ विपरीत ठगी गरेको हुँदा आवश्यक कारबाहीका लागि नेपाल प्रहरी प्रधान कार्यालय, साइबर ब्युरो भोटाहिटी काठमाडौं पठाइएको छ ।