बैंकिङ्ग प्रणालीमा एकैदिन थपियो ७ अर्ब रुपैयाँ, कर्जाको माग सुस्त 


काठमाडौं – पछिल्लो समयमा बैंकिङ्ग निक्षेपमा वृद्धि देखिएको छ । केन्द्रीय बैंकको असार ७ र ८ गतेको तथ्यांकअनुसार बैंकिङ्ग निक्षेपमा ७ अर्बको वृद्धि देखिएको हो ।

असार ७ गतेसम्म ७० खर्ब १९ अर्ब रुपैयाँ निक्षेप संकलन भएकोमा भोलिपल्ट बढेर ७० खर्ब २६ अर्ब रुपैयाँ पुगेको छ । यस्तै, सो समयमा वाणिज्य बैंकहरुको निक्षेप पनि ७ अर्बले नै बढेर ६२ खर्ब ८६ अर्ब रुपैयाँ पुगेको छ । 

सो अवधिमा बैंकिङ्ग  निक्षेपसँगै कर्जा प्रवाहमा पनि सामान्य वृद्धि देखिएको छ । असार ७ गतेसम्म बैंकिङ्ग प्रणालीबाट ५५ खर्ब ७१ अर्ब रुपैयाँ कर्जा प्रवाह भएको छ । अघिल्लो दिन ५५ खर्ब ७० अर्ब रुपैयाँ कर्जा प्रवाह भएको थियो ।

असार ७ गतेसम्म ४९ खर्ब ५० अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका वाणिज्य बैंकहरुले ८ गते ४९ खर्ब ५२ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् । सो समयमा अन्तर बैंक ब्याजदर २.९५ प्रतिशत र सिडी रेसियो ७८ दशमलव १८ प्रतिशत रहेको छ ।