काठमाडौं – मितेरी बचत तथा ऋण सहकारीको रकम अपचलनमा संलग्न ज्योती बहादुर भण्डारीलाई प्रहरीले पक्राउ गरेको छ।उनलाई प्रहरीले कम्बोडियाबाट पक्राउ गरी नेपाल ल्याएको हो। भण्डारीलाई नेपाल ल्याउनका लागि एक जना प्रहरी कम्बोडिया गएका थिए । उनलाई इन्टरपोल मार्फत पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले जनाएको छ ।
उनी प्राय भियतनाम नै बस्ने गरेको सीआईबीका प्रवक्ता युवराज खड्काले बताए । उनी विरुद्ध ललितपुर महानगरपालिका वडा नं. ५ स्थित महालक्ष्मी स्थानमा सञ्चालित मितेरी बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलन गरेको मुद्दा परेको थियो । यस सहकारीमा १४४ जना बचतकर्ता रहेको सीआईबीले जनाएको छ । सुरुमा आएको जाहेरी अनुसार उक्त सहकारीका बचतकर्ता र सञ्चालकको गरी त्यस सहकारीबाट १४ करोडभन्दा बढी रकम ठगी गरिएको मुद्दामा उनी फरार रहेका प्रवक्ता खड्काले बताए ।
सहकारीको रकम अपचलनमा काँग्रेसका उपसभापति एवं सांसद धनराज गुरुङको श्रीमती ज्योति गुरुङ पनि संलग्न रहेकी छिन्। उनी हाल फरार छिन् । गुरुङका माध्यमबाट भण्डारीले सहकारीको रकम अपचलन गरी विदेशमा बसेको खुल्न आएको ब्युरोले जनाएको छ । उनी विरुद्ध ‘रेड नोटिस’ २०८१ कार्तिक १३ गते नै जारी गरिएको भए पनि लामो समयको खोजी अनुसन्धान प्रश्चात् उनलाई कम्बोडियाबाट पक्राउ गरिएको हो । ब्युरोका प्रवक्ता खड्का अनुसार उनलाई बुधबार राति ११ बजे नेपाल ल्याइएको हो।
प्रारम्भिक अनुसन्धानबाट पत्ता लागेका तथ्य
सो रकम अपचलनमा ज्योती बहादुर, ज्योती , सुरज शाक्य, हितमान थापा र प्रकाश थापाविरुद्ध २०८१ असोज ६ गते नै पक्राउ पुर्जी जारी भैसकेको प्रहरीले जनाएको छ । मितेरी सहकारीका महाप्रबन्धक ज्योती गुरुङले सहकारीबाट अपचलन गरेको करोडौँ रकम भण्डारीले चलाएको खातामा फिर्ता गरिदिने भनि ह्वाटएप मार्फत कुराकानी भएको पाइएको खड्काले बताए ।
उनका अनुसार, भण्डारीले सहकारीका सचिव कृष्ण बहादुर रानाको नाममा रहेको ग्लोबल आईएमई बैंकको इन्द्रचोक शाखा ३३ करोड ११ लाख पार्सल गरी पठाएको छु भन्दै ह्वाटएपमा टोकनको फोटो पठाएको खुल्न आएको छ । भण्डारीले विदेशबाट आएको पार्सल रकम लिनका लागि कमिसन तिर्नुपर्छ भनी विभिन्न नम्बर र नामबाट सहकारी संस्थाका पदाधिकारीसँग सम्पर्क गरी ३ लाख ४४ हजार ठगी गरेका थिए ।
र्कीते राहदानी र नागरिकताको प्रयोग
उनको दुई वटा राहदानीमा दुई थरीका नागरिकताको प्रयोग भएको खुल्न आएको ब्युरोले जनाएको छ । एउटामा राहदानीको नम्बर १०५४८६८८ रहेको जसमा १५८८३ नम्बरको नागरिकतामा जन्मस्थान कास्की रहेको र अर्को राहदानीको नम्बर ११३६४६९१ रहेको त्यसमा १४८०३ नागरिकता नम्बर र जन्मस्थान बर्दिया रहेको खुल्न आएको छ ।
भण्डारीले अन्य व्यक्तिहरूको राहदानी र नागरिकताको विवरण परिवर्तन गरी काल्पनिक व्यक्तिहरूको विवरण राखी सोही कीर्ते गरेको राहदानी र नागरिकतालाई स्क्याम गर्न दुरुपयोग गरेका थिए । साथै, उनले फरक फरक नामका फेसबुक र ह्वाटएपबाट ठगी गर्दै आएको पाइएको छ । जसकारण भण्डारी माथि सहकारी ठगीको मात्र नभई राहदानी र नागरिकता र्कीते गरेको विषयमा पनि अनुसन्धान भइरहेको प्रवक्ता खड्काले बताए ।
उनी विरुद्ध मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद २१ को दफा २४१ ठगी सम्बन्धी कसुर र परिच्छेद २५ को दफा २७३ र्कीते गर्न नहुने कसुर लागेको छ । भण्डारी काठमाडौं जिल्ला प्रहरी परिसर, काठमाडौंमा विभिन्न मितिमा दर्ता भएको तीन वटा ठगी मुद्दामा समेत फरार रहेको पाइएको छ । भण्डारी माथि म्याद गरी थप अनुसन्धान गरिने प्रवक्ता खड्काले बताए ।






About Us
प्रतिक्रिया