८१ करोड ४७ लाख बराबरको सट्टेबाजी खेलाउने १७ जनाको गिरोह प्रहरी फन्दामा 


काठमाडौं – अनलाइन बेटिङ (सट्टेबाजी) खेलाएको आरोपमा प्रहरीले १७ जनालाई पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका टोलीले सोमबार राती उनीहरूलाई पक्राउ गरेको हो । उनीहरूले ह्वाटएप र टेलिग्रामका माध्यमबाट ७११ ब्याट कल्ब र युनिकन ३६५ नामक अनलाइन सट्टेबाजी साइट प्रयोग गरेको पाइएको प्रहरीले जनाएको छ ।

उनीहरूले अनलाइन जुवा कारोबार गरी ८१ करोड ४७ लाख रुपैयाँ बराबरको कारोबार गरेको देखिन आएको  प्रहरीले बताएको छ । काठमाडौंको धापासीबाट १५ जनालाई र ललितपुरको सनराइज अपाटमेन्टबाट २ जनालाई पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता काजी कुमार आचार्यले बताएका छन् । सट्टेबाजी खेलाउनेहरूमा पाँच जना भारतीय र १२ जना नेपाली रहेका छन् । 

पक्राउ पर्ने नेपाली नागरिकहरूमा डाइमण्ड कुँवर, मनोज बोगटी, राजेन्द्रबहादुर महरा, अरविन कुमार खड्का, विष्णुकुमार राउत, ठक्कर कुँवर, तिलक खड्का, जीतबहादुर महतो, सुवास खड्का, विकास थापा, हर्कबहादुर खड्का र पूर्णबहादुर दर्लामी मगर रहेका छन् । भने भारतीय नागरिकहरूमा ऋषभ राज, दीपक कुमार सिंह, अकिंतकुमार सिंह, धिरजकुमार सिंह र मोहित कुमार सिंह रहेका छन् ।

उनीहरूको साथबाट प्रहरीले विभिन्न कम्पनीको ल्यापटप १४ थान, विभिन्न कम्पनीको सिम नभएका मोबाइलहरू ६० थान, विभिन्न बैंकको चेकबुक तथा बचत पास बुक ९ थान, विभिन्न व्यक्तिहरूको नाममा भएको भिसा कार्डहरू १५ थान, नेपाली नागरिकको राहदानी ४ थान र भारतीय नागरिकको राहदानी ४ थान बरामद गरिएको छ । उनीहरूलाई मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद–५ को दफा १२५ बमोजिमको जुवा खेल्न वा सट्टे बाजी गर्न नहुने कसुरमा थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि जिल्ला परिसर, जावालाखेल ललितपुर पठाइएको उनले बताए ।

उनीहरू विगत दुई तिन वर्ष देखि सट्टेबाजीमा संलग्न रहेको पाइएको उनले बताए । उनीहरूले कहिले भारत कहिले दुबइ र कहिले नेपालमा सट्टेबाजी खेलाउँदै आएका छन् । नेपालमा आएर सट्टेबाजी खेलाएको पनि ५ महिना भैसकेको उनी बताउँछन् । त्यसभन्दा अगाडि पनि यस समूहका अन्य व्यक्तिहरूले नेपालमा सट्टेबाजी खेलाएको हुन सक्ने उनले बताए ।