बैंकिङ्ग समाचार, काठमाडौं ।
स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडले माघ २६ गतेदेखि विक्रीमा ल्याएको पाँच वर्षे अवधिको ऋणपत्र खरीद गर्ने आज अन्तिम दिन रहेको छ ।
बैंकले २ अर्ब ४० करोड रुपैयाँ बराबरको प्रतिऋणपत्र १००० रुपैयाँ अंकित दरका २४ लाख इकाइ ऋणपत्र निष्काशन गरेको हो । बैंकले ५ वर्ष अवधि तथा वार्षिक १०.३० प्रतिशत ब्याजदर भएको ‘१०.३० प्रतिशत स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेड ऋणपत्र’ नामक ऋणपत्र बिक्रीमा ल्याएको हो ।
कुल कित्ता ऋणपत्रमध्ये ६० प्रतिशत अर्थात् १४ लाख ४० हजार कित्ता ऋणपत्र व्यक्तिगत तवरबाट विक्री गरिने र ४० प्रतिशत ऋणपत्र सर्वसाधारणमा विक्री गरिने कम्पनीको भनाइ छ ।
सर्वसाधारणमा विक्री गरिने ९ लाख ६० हजार कित्ता ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात् ४८ हजार कित्ता सामूहिक लगानीकोषका लागि बाँडफाँट गरी बाँकी ऋणपत्र सार्वजनिक निष्कासनमा आएको हो । लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि अधिकतम १ लाख कित्तासम्म माग गर्दै ऋणपत्र खरीदका लागि आवेदन दिन सक्नेछन् ।
ऋणपत्र निष्कासनका लागि गराईएको रेटिङ्गमा कम्पनीलाई इक्रा नेपाल लिमिटेडले न्यून कर्जा जोखिमको संकेत गर्ने इक्राएनपी इस्यूअर त्रिपल ए रेटिङ्ग प्रदान गरेको छ । यो रेटिङ्ग प्राप्त गर्ने संस्थालाई समयमानै वित्तीय दायित्व पुरा गर्ने सम्बन्धमा उच्चतम मात्रामा सुरक्षित रहेको मानिने रेटिङ्ग कम्पनीको भनाइ छ ।
यो ऋणपत्र विक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तीनका शाखाकार्यालयबाट ऋणपत्र खरीदका लागि आवेदन दिन सकिनेछ । साथै मेरो शेयर सफ्टवेयर र एपमार्फत पनि आवेदन दिन सकिने व्यवस्था छ ।
प्रतिक्रिया