कृषि विकास बैंकको सीईओमा गोविन्द गुरुङ नियुक्त

कृषि विकास बैंकको सीईओमा गोविन्द गुरुङ नियुक्त


बैंकिङ्ग समाचार, काठमाडौं ।
कृषि विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा गोविन्द गुरुङ नियुक्त भएका छन् । शनिबार बसेको बैंकको सञ्चालक समितिको बैठकले आगामी चार वर्षका लागि गुरुङलाई सीईओ पदमा नियुक्त गरेको हो । सञ्चालक समितिले २२ आवेदकहरु मध्येबाट ५ जनालाई सर्टलिस्टिङ गर्दै अन्तत: गुरुङलाई चयन गरेको हो । उनले सोमबार कार्यभार सम्हाल्दै छन् ।

सीईओ छनोट समितिले तीन जनाको नाम बोर्डमा सिफारिस गरेको थियो । तीन जनामध्येबाट बोर्डले गुरुङलाई सीईओ बनाउने निर्णय गरेको हो । सर्टलिष्टमा कृषि विकास बैंककै निमित्त सीइओ प्रताप सुवेदी, बैंककै डिजिएम यज्ञ प्रकाश न्यौपाने, हाल राष्ट्रिय सहकारी बैंकका सिईओ रहेका बद्रीप्रसाद गुँरागाई, नेपाल एसबिआई बैंका डिसिइओ विष्णुदेव यादव थिए ।

गुरुङ सिभिल बैंकका पूर्व सीईओ हुन् । नवनियुक्त सीईओ गुरुङसँग बैंकिङ्ग क्षेत्रमा करिब २६ वर्ष काम गरेको अनुभव छ । त्रिभुवन विश्व विद्यालय अन्तर्गत रहेको नेपाल कमर्स क्याम्पसबाट प्रथम श्रेणीमा एमबीए उत्तीर्ण गरेका गुरुङले हिमालयन बैंकबाट आफ्नो बैंकिङ्ग करियर सुरु गरेका हुन् ।

उनले हिमालयन बैंकमा साढे १० वर्ष काम गरेका थिए । त्यसपछि उनी ग्लोबल आइएमई बैंकको वरिष्ठ प्रबन्धक पदमा रहेर काम गरे । ग्लोबल आइएमई बैंकमा साढे ३ वर्ष काम गरेपछि उनी नायव महाप्रबन्धक पदमा मेगा बैंक प्रवेश गरेका थिए । उनले उक्त बैंकमा साढे २ वर्ष काम गरे ।

त्यसपछि उनी सिभिल बैंक प्रवेश गरेर साढे ४ वर्ष डेपुटी सीईओ भए । गुरुङ सोही बैंकको सीईओ समेत बने । विदेशी बैंकमा समेत काम गरेको अनुभव भएका गुरुङले ४ वर्ष ३ महिना सिभिल बैंकमा सीईओ भएर काम गरे ।

सिभिल बैंक छाडेर उनी विदेशी बैंकमा काम गर्न गए । विदेशी बैंकको सीईओ बन्ने गुरुङ पहिलो नेपाली नागरिक हुन् । गुरुङ सिभिल बैंक छाडेर म्यानमार सिटिजन बैंकको सिइओ पदमा नियुक्त भएका थिए । उनि उक्त बैंकको जागिर छाडेर नेपाल फर्किएका थिए ।