लुम्बिनी विकास बैंकका वरिष्ठ डीसीईओ ढकालको हृदयघातका कारण निधन

लुम्बिनी विकास बैंकका वरिष्ठ डीसीईओ ढकालको हृदयघातका कारण निधन


बैंकिङ्ग समाचार, काठमाडौं ।
लुम्बिनी विकास बैंकका वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) पवन ढकालको निधन भएको छ । डीसीईओ ढकालको बुधबार हृदयघातका कारण काठमाडौंमा निधन भएको पारिवारिक स्रोतले बताएको छ । डीसीईओ ढकाल हृदयघातका कारण लामो समयदेखि उपचाररत थिए । उनलाई दुई पटकसम्म हृदयघात भएको थियो ।

त्रिभुवन विश्वविद्यालयबाट एमबीए गरेका ढकालको नेपाली बैंकिङ्ग क्षेत्रमा तीन दशकको योगदान छ । उनले सन् १९९२ मा स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेड (साविक नेपाल ग्रिन्डलेज बैंक) बाट आफ्नो बैंकिङ्ग करियर सुरु गरेका थिए । उनले सो बैंकमा करिब ८ वर्ष बिताएका थिए । स्ट्याण्डर्ड चार्टर्ड बैंक छाडेपछि उनी माछापुच्छ्रे बैंकमा आबद्ध भएका थिए । उनले माछापुच्छ्रे बैंकमा करिब १४ वर्षसम्म विभिन्न व्यवस्थापकीय भूमिका र जिम्मेवारीमा रहेर काम गरेका थिए ।

त्यसपछि साविक कैलाश विकास बैंकमा सहायक महाप्रबन्धक, सिद्धार्थ विकास बैंकमा डीसीईओ र जनता बैंकमा सहायक महाप्रबन्धकको रूपमा काम गरेका थिए । उनी सन् २०१९ जुनदेखि लुम्बिनी विकास बैंकमा वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृतको पदमा प्रवेश गरेका थिए ।