राष्ट्र बैंकले १८ अर्ब बराबरको ट्रेजरी बिल जारी गर्ने, बोलकबोल आजै हुने

राष्ट्र बैंकले १८ अर्ब बराबरको ट्रेजरी बिल जारी गर्ने, बोलकबोल आजै हुने


बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल राष्ट्र बैंकले रू. १८ अर्ब बराबरको ट्रेजरी बिल जारी गर्ने भएको छ । राष्ट्र बैंकले २८ दिन, ९१ दिन र १८२ दिनको लागि ट्रेजरी बिल जारी गर्न लागेको हो । यस ट्रेजरी बिलका लागि आज दिउँसो २ बजे बोलकबोल हुनेछ ।

राष्ट्र बैंकले २८ दिनको लागि रू. ५ अर्ब बराबरको ट्रेजरी जारी गर्दै छ । यो ट्रेजरी फागुन ३० गते परिपक्व हुनेछ । त्यस्तै ९१ दिनको लागि रू. ७ अर्ब बराबरको ट्रेजरी जारी गर्न लागिएको छ । यो ट्रेजरी २०८० जेठ २ गते परिपक्व हुनेछ । त्यसैगरी १८२ दिनका लागि रू. ६ अर्ब बराबरको ट्रेजरी बिल जारी गरिँदै छ । यो ट्रेजरी २०८० साउन ३० गते परिपक्व हुनेछ ।

ट्रेजरी बिल १ वा १ वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो । सरकारलाई आवश्यक पर्ने अल्पकालीन अवधिको (बढीमा एक वर्ष) स्रोत जुटाउन यो बिल बिक्री गरिन्छ । 

व्यक्तिको हकमा ट्रेजरी बिलको प्रमाणपत्र धितो राखी बैंक तथा वित्तीय संस्थाबाट ऋण लिन पनि पाइनेछ । सबै वर्गका बैंक तथा वित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारण नागरिकसमेत ट्रेजरी बिलको बोलकबोलमा सहभागी हुन सक्नेछन् ।