बैंकिङ्ग समाचार, काठमाडौं ।
ग्लोबल आइएमई बैंकले आज माघ २९ गतेदेखि ऋणपत्र निष्काशन गरेको छ । बैंकले वार्षिक ११ दशमलव २५ प्रतिशत ब्याज प्रदान गर्ने ५ वर्षे अवधिको ‘ग्लोबल आइएमई बैंक डिबेन्चर २०८४/८५’ ऋणपत्र निष्काशन गरेकोे हो ।
बैंकले प्रतिऋणपत्र एक हजार अंकित दरका ५ अर्ब रुपैयाँ बराबरको ५० लाख कित्ता ऋणपत्र निष्काशन गर्न लागेको हो । बैंकले निष्काशन गर्न लागेको कुल ५० लाख कित्ता मध्ये ३० लाख कित्ता निजि तबरबाट बिक्रि गरिने र बाँकि २० लाख कित्ता आम सर्बसाधारण तथा सामुहिक लगानी कोषहरुको लागि निष्काशन हुने जनाएको छ । २० लाख कित्ता मध्ये १ लाख कित्ता सामुहिक लगानी कोष योजनाको लागि छुट्याईएकोमा ति योजनाहरुबाट ७० हजार कित्ताको लागि मात्र माग आएको बैंकले जनाएको छ । बाँकि रहेको ३० हजार कित्ता सहित सर्वसाधारणलाई १९ लाख ३० हजार कित्ता ऋणपत्र निष्काशन हुने बैंकले उल्लेख गरेको छ ।
उक्त ऋणपत्रमा छिटोमा फागुन ३ गतेसम्म र सो अवधिसम्म पूर्ण आवेदन नपरेमा ढिलो फागुन १४ गतेसम्म आवेदन दिन सकिने छ । ऋणपत्रमा आवेदन दिंदा न्युनतम २५ कित्ता र अधिकतम १० लाख कित्ताको लागि आवेदन दिन सकिने छ । बैंकको ऋणपत्र निष्काशनमा सनराइज क्यापिटल रहेको छ ।विक्री प्रबन्धकसँगै लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु तथा तिनका तोकिएका शाखा कार्यालयहरूबाट आवेदन दिन सक्नेछन् ।
साथै मेरो शेयर अनलाइन प्रयोग गरी सि–आस्बा प्रणालीमार्फत आवेदन दिन सकिने व्यवस्था छ । ऋणपत्र निष्काशनका लागि गराएको क्रेडिट रेटिङ्गमा इक्रा नेपालले बैंकलाई न्यून कर्जा जोखिम रहेको संकेत गर्ने इक्रा एनपी इस्यूअर रेटिङ्ग ए प्रदान गरेको छ ।
यो ऋणपत्रमा आर्जित ब्याज रकम प्रत्येक आर्थिक वर्षको प्रथम अर्थवार्षिक र दोस्रो अर्धवार्षिक समाप्त भएपश्चात कर कट्टा गरी भुक्तानी गरिने जानकारी बैंकले दिएको छ ।
प्रतिक्रिया