निजी क्षेत्रको विश्वास बटुल्ने कोसिसमा गभर्नर


काठमाडौं – १८औं गभर्नरकारुपमा नेपाल राष्ट्र बैंकको नेतृत्वमा आएका डा. विश्वनाथ पौडेल निजी क्षेत्र लगायत अर्थतन्त्रको सबै सरोकारवाला निकायको मन जित्ने प्रयासमा लागेका छन् । मन्त्रीपरिषद्को बैठकले नियुक्त गरेर कार्यभार सम्हालेदेखि नै डा. पौडेल यतिबेला विभिन्न निजी क्षेत्रका छाता संगठनसँग भेटघाटमा व्यस्त छन् ।

भेटघाटका क्रममा गभर्नर डा. पौडेलले निजी क्षेत्रको समस्या र चुनौती तथा सुझाव बटुलिरहेका छन्। यसअघि योजना आयोगको उपाध्यक्षको भूमिकामा समेत रहिसकेका डा. पौडेललाई अर्थतन्त्रको राम्रो ज्ञाता मानिन्छ । सोहीकारण, डा. पौडेल राष्ट्र बैंकमा आउँदा निजी क्षेत्र समेत अर्थतन्त्रको जानकार भन्दै उत्साहित छन् ।

निजी क्षेत्रको यही उत्साहलाई विश्वासमा बदल्ने सोचसहित गभर्नर डा. पौडेल नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघसहित नेपाल चेम्बर अफ कमर्ससँग भेटिसकेका छन् । यस्तै, नाडा अटोमोबाइल्स एसोसिएशन, नेपाल बैंकर्स संघ र बैंक तथा वित्तीय संस्था परिसंघ नेपालसँग समेत भेटिसकेका छन् ।

यसक्रममा गभर्नर पौडेलले निजी क्षेत्रको असन्तुष्टि, सुझाव र अर्थतन्त्र सुधार्न लिनुपर्ने नीतिको सुझाव बटुलिरहेका छन् । डा. पौडेले नीतिगत स्थायित्व र सरोकारवालाहरूसँग छलफलमा आधारित मौद्रिक नीति निर्माण गर्ने प्रतिबद्धता व्यक्त गर्दा पनि उनी निजी क्षेत्रमैत्री गभर्नरको रूपमा स्थापित रहने धारणा अधिकांशले व्यक्त गरिरहेका छन् ।

पौडेलले निजी क्षेत्रलाई अर्थतन्त्रको संवाहक मानेर लगानीमैत्री वातावरण बनाउने उल्लेख गरेका छन् । निजी क्षेत्रको मनोबल बढाउँदै अर्थतन्त्रलाई गति दिन उनको भूमिकाको अपेक्षा सर्वसाधारणले गर्दै आएका छन् । उनले केन्द्रीय बैंकको गभर्नर पद सम्हाल्दै गर्दा निजी क्षेत्रलाई प्रोत्साहन गर्दै जाने बताएका थिए।

गभर्नरमा नियुक्त भएर कार्यभार सम्हालेकै दिन नेपाल उद्योग वाणिज्य महासंघसँग भेट गरेका थिए। यसले नै पनि गभर्नर निजी क्षेत्रमैत्री बन्ने धारण अधिकांशले व्यक्त गरेका हुन् । निजी क्षेत्रसँगको भेटका क्रममा नै उनले अर्थतन्त्र चलायमान बनाउन भूमिका निर्वाह गर्ने बताएका थिए । ‘निजी क्षेत्र अर्थतन्त्रको संवाहक हो । अर्थतन्त्र चलायमान हुन स्थायित्व आवश्यक छ। निर्णयहरू पूर्वानुमानयोग्य हुनु पर्छ,’ उनले भनेका थिए, ‘बैकिङ्ग क्षेत्रमा आकस्मिक कुनै निर्णय गर्नु भन्दा सरोकारवालाहरूसँग बसेर छलफल गरेर अगाडि बढ्दा नै नीतिगत स्थायित्व कायम गर्न सकिन्छ भन्ने मेरो धारणा हो।’

यस्तै, अटो व्यवसायीसँगको भेटका क्रममा गभर्नर पौडेलसँग तत्काल कार्यान्वयनका लागि स्पष्टता र सुनिश्चित गर्न माग समेत गरेको थियो । पौडेलसँगको भेटमा नाडाले हालको ५० प्रतिशत लोन टु भ्यालु रेसियो सीमाले ग्राहक तथा व्यवसाय दुवैलाई अवरोध सिर्जना गरेकोको पनि बताएको थियो।

रेगुलेटरभन्दा बढी सुपरभिजनमा जोड दिने

राष्ट्र बैंकको १८ औं गभर्नरको रूपमा पदभार ग्रहण गर्दा गभर्नर पौडेलले सुपरभिजनमा जोड दिने बताएका थिए । उनले पदभार ग्रहण गर्दा नै रेगुलेटरमा भन्दा सुपरभिजनमा जोड दिने बताउँदा उनको प्रशंसा समेत भयो । ‘वित्त नीतिबाट जे कुराहरू तय हुन्छन् त्यसलाई सफल बनाउन मौद्रिक नीतिले सहयोग गर्छ’, उनले भने, ‘नियमन र सुपरिवेक्षण अर्को काम हो । धेरै नियम बनाएर कसिलो बनाउनेभन्दा पनि सुपरिवेक्षण क्षमता बढाउनुपर्नेछ । यसका लागि राष्ट्र बैंकको क्षमता बढाउनुपर्नेछ ।’ बैंक तथा वित्तीय संस्थामा रहेको नागरिकको निक्षेपको सुरक्षा र कर्जा नीतिमा सुधारलाई पनि राष्ट्र बैंकले प्राथमिकतामा राख्ने उनले उल्लेख गरेका थिए ।

समिक्षामार्फत शेयर बजारलाई सहज

राष्ट्र बैंकका गभर्नर पौडेलले चालु आर्थिक वर्षको मौद्रिक नीतिको तेस्रो त्रैमासको समीक्षामार्फत पनि निजी क्षेत्र र लगानीकर्तालाई भरोसा दिलाउन खोजेका छन् । उनले मौद्रिक नीतिको समीक्षा गर्दै विद्यमान शेयर धितो कर्जाको जोखिम भार घटाइदिएका छन् । उनले कर्जाको जोखिम भार १२५ बाट १०० प्रतिशत पुर्‍याएका हुन् ।

राष्ट्र बैंकका गभर्नरले शेयर धितो कर्जाको जोखिम भार घटाउँदा यतिबेला लगानीकर्ता पनि उत्साहित बनेका छन् । शेयर विश्लेषक तारा प्रसाद फुल्लेल शेयर धितो कर्जाको जोखिम भार घटाउँदा बैंकहरूलाई शेयर धितो कर्जा दिन सजिलो बनाउने हुँदा बजारमा तरलता र लगानीकर्ताको मनोबल बढ्न सक्ने बताउँछन् । यस व्यवस्थाले बैंकहरूको पुँजीकोषमा पनि राहत प्रदान गर्ने उनी बताउँछन् । फुल्लेलले शेयर बजार प्रति गभर्नर सकारात्मक रहेको संकेत देखिएको भन्दै लगानीकर्ताका मागहरू क्रमशः सम्बोधन हुँदै जाने कुरामा विश्वास पनि व्यक्त गरेका छन् ।