काठमाडौं – जलवायु परिवर्तन वा यसको जोखिमबाट कुनै पनि देश अछुतो छैन। अझ नेपालको परिवेशलाई हेर्ने हो भने सही मूल्याकंन गरि समयमा होस नर्पुयाउँदा हरेक वर्ष अर्बौँको भार ब्यहोर्नु परिरहेको छ। बीमा क्षेत्रमा पनि निर्जीवन बीमा कम्पनीहरूले वर्षायाम सुरु हुन साथ र बेमौसमी वर्षा पर्नसाथ डराउनु पर्ने अवस्था छ । हरेक वर्षको जलवायु परिवर्तनबाट हुने क्षतिको कारण बीमा कम्पनीहरूले भार बोकिरहनु परेको छ ।
बेमौसमी क्षतिमा झनै कुनै तयारी नभएको खण्डमा दाबी भुक्तानीमा पनि समय लाग्ने गर्छ । सम्पूर्ण विश्व नै जलवायु परिवर्तनको चपेटामा परेको समयमा नेपाल र यहाँका बीमा उद्योग पनि अछुतो रहन सकेका छैनन् । जलवायु परिवर्तनले बीमाको उत्पादन र आवश्यकता सिर्जना गर्छ । साथै, बीमाको भूमिकालाई अझ बृहत् पारिरहेको छ । यसले बीमा क्षेत्रमा नयाँ जोखिम र मान्यताको विकास गर्नुका साथै बीमा क्षेत्रमा पुनरावलोकन र पुनर्विचार गर्नुपर्ने अवस्था ल्याउन सक्छ ।
जलवायु परिवर्तनको बढ्दो प्रभावले बीमा कम्पनीहरूलाई ‘क्लाइमेट रिस्क’ मूल्याकंनमा निरन्तर चुनौती थपिएको छ । प्राकृतिक प्रकोपहरूको तीव्रता र अनिश्चितताले जोखिम व्यवस्थापन र बीमा पोलिसीको मूल्य निर्धारणलाई जटिल बनाएको छ । तर, नेपालको सन्दर्भमा जलवायु परिवर्तनबाट हुने क्षतिलाई पूर्वानुमान गरि त्यस्तो समस्याको सामना गर्ने कुनैपनि तयारी भने भएको हुँदैन ।
बीमा क्षेत्रले के गर्न आवश्यक छ ?
जलवायु परिवर्तनले समग्र सबै देशहरू समस्या भएको अवस्थामा अन्य देशकोभन्दा बढी भार नेपालले भोगिरहेको हुन्छ । यसको मुख्य कारण कुनै पनि योजना वा तयारी नहुनु हो । नेपालको बीमा क्षेत्रको हकमा जलवायु परिवर्तनको कारण हुने समस्यालाई कसरी घटाउने वा बीमाले त्यसलाई बहन कसरी गर्ने भन्ने व्यवस्थापन गर्नु आवश्यक रहेको बीमा विज्ञ रविन्द्र घिमिरेको भनाइ छ ।
‘जलवायु जोखिम नेपालमा मात्रै नभई विश्वव्यापी समस्या हो । कुनै क्षति हुनलाई जलवायु परिवर्तनको कारणले भयो या साधारण हो भन्ने कुरा छुट्ट्याउन ग्राहो हुन्छ,’ उनले भने, ‘बेमौसममा भयो भने जलवायु परिवर्तनको कारणले भन्न मिल्छ । यसको कारण भनेको तीव्र औद्योगीकरण, सहरीकरण जस्ता विषयहरू नै हुन् ।’ यस्तै, यसलाई न्यूनीकरण गर्ने, क्षति घटाउने र बीमा कम्पनीको बहन क्षमता बढाउन आवश्यक रहेको समेत उनले बताए ।
नियामक निकाय र बीमा कम्पनीहरूले बेमौसमी रुपमा हुने क्षतिको लागि पूर्व तयारी गरी बीमा व्यवसायमा असर नपर्ने गरी तयारी गर्नु पर्छ । यस्तै, जलवायु जोखिम सम्बन्धी बीमालेखको अहिलेको ढाँचा नै परिवर्तन गर्नुपर्ने समेत उनको जिकिर छ । ‘जलवायु परिवर्तनले हरेक पक्षलाई असर गरिरहेको हुन्छ,’ घिमिरेको भनाई छ, ‘जस्तै यसले मानव जीवनमा, पशुबीमा, खेतीपातीमा असर गरिरहेको छ ।’ यही कारण, अबदेखि जलवायु सम्बन्धी जोखिमको व्यवस्थापनको लागि बीमा कम्पनीहरूले काम गर्नुपर्ने हुन्छ ।
यो वर्ष ३० वर्षकै धेरै वर्षाको जोखिम
अबको झन्डै डेढ महिनामा सुरु हुने मनसुनी वर्षा यस वर्ष नेपालसहित दक्षिण एसियाका अधिकांश भागमा औसतभन्दा बढी हुने प्रक्षेपण साउथ एशियन क्लाइमेट आउटलुक फोरमले गरेको छ । गत वर्षको १२५ दिन लामो मनसुनमा नेपालमा १२२ प्रतिशत अर्थात् १६७०.७ मिलिलिटर वर्षा भएको थियो । त्यो सामान्य अवस्थाको मनसुनभन्दा १३ दिनले बढी थियो।
यस वर्ष नेपालसहित दक्षिण एसियामा सरदरभन्दा बढी वर्षा, न्यूनतम तापक्रम र अधिकतम तापक्रम पनि सरदरभन्दा बढी हुने सम्भावना रहेको फोरमको प्रतिवेदनमा उल्लेख छ । दक्षिण एसियाका अधिकांश भागहरूमा क्षेत्रको दक्षिण–पूर्वी भागका केही भागहरू बाहेक जहाँ सामान्य न्यूनतम तापक्रम सबैभन्दा बढी हुने प्रक्षेपण गरिएको छ । त्यसैले यस वर्षको मनसुनमा पनि नेपालमा बाढी, पहिरो, डुबान र कटान जस्ता प्राकृतिक प्रकोपको जोखिम बढ्ने जोखिम भएकाले पूर्व तयारीका काम थाल्नु पर्नेछ ।
गत वर्षको असोजले झस्किएका बीमा कम्पनी
वर्षायाममा हुने क्षतिको लागि बीमा कम्पनीहरू ज्ञात हुन्छन् । तर, नसोचिएको समयमा हुने क्षतिको लागि भने बीमा कम्पनीहरू तयारीमा हुँदैनन् । यस्तै गत असोज महिनामा परेको बाढी पहिरोको कारण भएको क्षतिपछि परेको दावीमा निर्जीवन बीमा कम्पनीहरूले तीन अर्ब पाँच करोड ६० लाख भुक्तानी दिएका छन् । कम्पनीहरूले फागुन २१ गतेसम्मको अवधिमा उक्त दावी भुक्तानी वितरण गरेका हुन् । यस अवधिमा निर्जीवन बीमा कम्पनीहरूले दुई हजार ४७८ वटा दावी भुक्तानी गरेका छन् । यस्तो अवस्थामा अप्रत्याशित हुने घटनाहरूको लागि बीमा कम्पनीहरूले पूर्व योजना बनाउने हो भने व्यवसाय र समग्र बीमा क्षेत्रमा यसको असर पर्ने छैन ।
प्रतिक्रिया