बैंकिङ्ग समाचार, काठमाडौं ।
स्ट्याण्डर्ड चार्टर्ड बैंकले माघ २६ गतेदेखि ५ वर्षे अवधिको ऋणपत्र निष्कासन गर्ने भएको छ । बैंकले ५ वर्ष अवधि तथा वार्षिक १०.३० प्रतिशत व्याजदर भएको ‘१०.३०% स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेड ऋणपत्र’ नामक ऋणपत्र बिक्री खुला गर्न लागेको हो । बैंकले प्रति ऋणपत्र रू.१ हजार अंकित मूल्यको २४ लाख कित्ताले हुन आउने रू. २ अर्ब ४० करोड बराबरको ऋणपत्र विक्री गर्नेछ ।
कुल कित्ता ऋणपत्रमध्ये ६० प्रतिशत अर्थात् १४ लाख ४० हजार कित्ता ऋणपत्र व्यक्तिगत तवरबाट विक्री गरिने र ४० प्रतिशत ऋणपत्र सर्वसाधारणमा विक्री गरिने कम्पनीले बताएको छ । सर्वसाधारणमा विक्री गरिने ९ लाख ६० हजार कित्ता ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात् ४८ हजार कित्ता सामूहिक लगानीकोषका लागि बाँडफाँट गरिएको छ । अब बाँकी कित्ता ऋणपत्र भने सार्वजनिक निष्कासनमा आउनेछ ।
यो ऋणपत्र छिटोमा फागुन १ गतेसम्म विक्रीमा रहनेछ भने छिटो अवधिभित्र माग बमोजिम आवेदन नपरेमा ढिलोमा फागुन ११ गतेसम्म विक्री अवधि लम्बिनेछ । लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि अधिकतम १ लाख कित्तासम्म माग गर्दै ऋणपत्र खरीदका लागि आवेदन दिन सक्नेछन् ।
ऋणपत्र निष्कासनका लागि गराइएको रेटिङ्गमा कम्पनीलाई इक्रा नेपाल लिमिटेडले न्यून कर्जा जोखिमको संकेत गर्ने इक्राएनपी इस्यूअर त्रिपल ए रेटिङ्ग प्रदान गरेको छ ।
यो ऋणपत्र विक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तीनका शाखाकार्यालयबाट ऋणपत्र खरीदका लागि आवेदन दिन सकिनेछ । साथै मेरो शेयर सफ्टवेयर र एपमार्फत पनि आवेदन दिन सकिने व्यवस्था छ ।
प्रतिक्रिया