भावना अवस्थी, काठमाडौं ।
हामी सबैले सानैदेखि के गर्ने भन्नेबारेमा केही न केही सोचेकै हुन्छौ । कतिपयले आफूलाई उपयुक्त लागेको काम रोज्छन भने कतिपयले उद्यमी बन्ने सपना सानैदेखि सोचेका हुन्छन्।
यसकै भीडमा सुवास सापकोटाको भने उद्यमी बन्छु भन्ने सपना बच्चैदेखि थियो । उनी बिधि प्राइभेट लिमिटेडका सञ्चालक हुन् । यसबाहेक उनले अरु थुप्रै स्ट्राटअप पनि गरेका छन् । मोवाइल र वेब टेक्नोलोजीको क्षेत्रमा नयाँ उत्पादनसँगै सेवाहरूको विकास र प्रयोग गर्ने कम्पनी हो ‘विधि’ प्राइभेट लिमिटेड ।
निम्न मध्यम वर्गीय परिवारमा हुर्किएका सुवासले आठ बर्ष अगाडि सुरु गरेको ‘विधि’ अहिले नयाँ उचाई चुमिरहेको छ । काठमाडौंको मध्य बानेश्वरमा छ उनले सञ्चालनमा ल्याएको ‘विधी’ प्राइभेट लिमिटेड । आफ्ना विगतका सघर्ष सम्झिदै उनले भने,‘एउटा निम्न मध्यम वर्गीय परिवारमा हुर्किएपछिको जुन अभाव भोग्नुपर्यो त्यतिबेलादेखि नै मैले ब्यापार व्यवसाय गर्छु भन्ने सोचेको थिए ।३२ बर्षका युवा उद्यमी सुवास सापकोटा उद्यमी मात्र नभई एमबिए का विद्यार्थी पनि हुन् । उनिसँग यसअघि अरु क्षेत्रतिर जागिर गरेको अनुभव पनि छ । उनले दुई बर्ष ई–सेवामा काम गरेका थिए ।
ग्राहका आवश्यकताहरू डिजिटलाइज गर्न, ग्राहकको लक्ष्य उपलब्धी पूरा गर्न सफ्टवेयर विकास गर्न र दैनिक कार्यसम्पादन र निर्णय लिने सन्दर्भमा संगठनको क्षमता बढाउनको लागि नयाँ उत्पादन सिर्जना गर्ने काम पनि ‘विधि’ ले गर्छ ।
‘विधि’ ले एन्ड्रोइड र आईओएस प्लेटफर्मको लागि वेबसाइट डिजाइन, ईकमर्स समाधान, मोबाइल अनुप्रयोग विकास प्रदान गर्दछ । यसबाहेक ,ग्राहकको आवश्यकता अनुसार वेब एप्लिकेसन वा मोवाइल एप्लिकेसनको रूपमा कस्टम सफ्टवेयरको विकास गरेर आफ्ना विचारहरूलाई वास्तविकतामा रूपान्तरण गर्ने काम पनि ‘विधि’ प्राइभेट लिमिटेडको हो । बजारमा व्यवसायका अन्य क्षेत्रहरु पनि छन् यस्तो बिजनेस आइडिया कसरी आयो त भन्ने प्रश्नमा उनले भने,‘फिजिकल रूपमा व्यवसाय सञ्चालन गर्दा त्यसलाई अगाडि बढाउन ,व्यवस्थित बनाउन समय लाग्छ । यससँगै पुँजी पनि आवश्यक रुपमा आवश्यकता पर्छ नै । यसले एउटा कोठामा बसेर पूरा विश्वलाई आफ्नो ग्राहक बनाउन सकियो ।’
यसमा आफु अगाडि भएको सुवास बताउँछन् । त्यसमा पनि अन्तर्राष्ट्रिय सफ्टवेयरसँग मात्रै काम गरिरहेको उनले बताए । त्यस्तै, कम्पनीमा प्रत्यक्ष रूपमा ६५ जना कर्मचारी कार्यरत छन् । विगत ८ बर्षदेखि ‘विधि’ सङ्गै अन्य स्ट्राटअप पनि गरिरहेका सुवास व्यवसायको सुरुवात साथिहरूसगँ मिलेर सञ्चालन गरेको बताए । उनले भने, ‘सुरुवाती दिनहरुमा साथिहरू थिए । तर ६ महिनासम्ममा उनीहरुले छाडे । म एक्लै भएँ । त्यतिबेला मलाई आर्थिक हिसाबले निकै असहज भयो । तलबका कारण स्टाफ पाउन गाह्रो भयो । बैंकहरुबाट लोन लिन कोसिस पनि गरियो तर लोन पाइएन ।’ यहाँ विदेश बसेर आएर नेपालमै काम गरिरहेकाहरु पनि छन् । यसरी बाहिर बसेर त्यताको व्यवसाय गर्ने कला सिक्नु राम्रो र देशमा केहि गर्न चाहनेका लागि देशमै राम्रो अवसर रहेको उनी बताउँछन ।
‘विदेशिनु कतिपयको त बाध्यता पनि हुन्छ, तर अमेरिका अस्ट्रेलिया जानेहरूसगँ त देशमै लगानी गर्न पुँजिको पनि समस्या हुँदैन । तर उनीहरुलाई विदेशी जिवनशैलीप्रती लगाव, मोह भैसकेको हुन्छ।’ उनले भने। सुवासले सामान्य लगानी गरेर सहकारीहरुबाट लोन लिएर व्यसाय संचालनमा गरेका थिए । बैंकले आफुलाई कर्जा दिन धितो आवश्यक पर्ने भनेपछि आफु कर्जाकै लागि सहकारी धाउनुपरेको पनि अनुभव छ ।
`विधि´ २५ हजार रुपैयाँ लगानीमा सुरु भएको थियो। अहिले करिब १० करोड सम्मको पोर्टफोलियोमा पुगिसकेको सुवास बताउँछन । सुरुवाती दिनहरुमा काम गर्दा चुनौतीपूर्ण भएपनि आफुलाई मनपर्ने क्षेत्र भएर रमाईलो लाग्ने उनी बताउँछन् । अन्य देशबाट नयाँ कुरा सिक्ने र आफ्नै देशमा त्यसको प्रयोग गरी क्षमता प्रस्तुत गर्नेमा उनको विश्वास छ । ‘युवाहरुले अध्ययनकै लागि विदेश जानु त ठिक हो । तर उता गएपछि उताकै परिवेशसँग, जिवनशैलीसँग लगाव हुन्छ र उतैको मोह हुन्छ । यसले गर्दा देशमा केहि छैन भन्ने लाग्छ तर थोरै लगानी गरेर पनि स्वदेशमै केहि गर्न सके अफुलाई सहज हुन्छ । साथै यसले मुलुकको आर्थिक विकासको लागि केही सहयोग पनि प्रदान गर्दछ ।’ उनले भने । कम उमेरमै राम्रो उद्यमीको रुपमा परिचित गराएका उनले मानिसमा धैर्य र स्थिरता हुनु जरूरी रहेको र नेपाली बजार सम्भावना र अवसर थुप्रै रहेको बताउँछन । त्यस्तै धैर्य र स्थिरतासँगै आत्मविश्वास भए सफल हुन सकिने उनी बताउँछन ।
पछिल्लो समय युवा पुस्ता वैदेशिक रोजगारीका लागी बाहिरिने क्रम बढ्दो छ । पढेलेखेका युवा पुस्तामा विदेशिने भोक मेटिन सकेको छैन् । देश भित्र उत्पादन भएका शिक्षित युवा र दक्ष जनशक्ति रोजगारका लागि विदेशिने लहरले मुलुकको अवस्था नाजुक बन्दै गइरहेको छ ।
उसो त प्रत्येक वर्ष त्रिभुवन विश्व विद्यालयले लाखौँ शिक्षित श्रम शक्ति उत्पादन गर्दछ । स्नातकोत्तर गरिसक्दासम्म पनि पनि नेपालको शिक्षा प्रणालीले शिक्षा के हो ? भनेर सिकाउन सकेको छैन । कुनै उच्चस्तरको जागिर गर्न वा टन्न धन आर्जन गर्नका लागि मात्र पढ्नुपर्छ भन्ने मान्यता अधिकांश शिक्षित वर्गमा नै पाइन्छ ।
यस्तो अवस्थामा लाखौँ लगानी गरेर विदेशिनुभन्दा थोरै लगानी गरेर पनि देशभित्रै व्यवसाय सञ्चालन गरे अगाडि बढ्न सकिन्छ भन्ने दरिलो उदाहरणका रूपमा सुवास सापकोटालाई लिन सकिन्छ ।
प्रतिक्रिया