गभर्नरमा डा. ढुंगानालाई नै नियुक्ति गर्न ओलीले राखेको अडान


काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल राष्ट्र बैंकको १८औं गभर्नरमा डा. नीलम ढुंगानालाई नै नियुक्त गर्ने अडान राखेका छन् । नेपाली कांग्रेससँगको साझेदारीमा सरकार चलाइरहेको प्रधानमन्त्री ओलीले ढुंगानालाई गभर्नर नियुक्त गर्ने अडान राखिरहेका हुन् ।

प्रधानमन्त्री ओलीको अडानमा नेपाली कांग्रेसले साथ नदिएपछि गभर्नर पद खाली भएको डेढ महिनासम्म पनि नियुक्ती हुन सकेको छैन । खासगरी, गभर्नर गत वर्षको चैत २४ गते नै नियुक्त भइसक्नुपर्ने हो । तर, राष्ट्र बैंकमा पहिलो महिला गभर्नर ल्याउने इच्छा ओलीको छ ।

यता नेपाली कांग्रेस भने भागबन्डाका आधारमा जसरी पनि आफ्नो मान्छे ल्याउने योजना बनाइरहेको छ । यहीकारण सुरुमा डा. गुणाकर भट्ट र त्यसपछि डा. विश्व पौडेललाई गभर्नरकारुपमा अघि सारेको छ ।

यता ओलीले भने सुरुदेखि नै गभर्नरमा डा. नीलम ढुंगानाकै पक्षमा अडान लिइरहेका छन् । उनले एमालेबाट नाम चलेका डा. प्रकाश श्रेष्ठ र अशोक शेरचनको नाम पन्छाउँदै डा. ढुंगानालाई नै भावि गभर्नरमा समर्थन गर्ने जनाउ बारबार दिइरहेका छन् ।

प्रभानमन्त्री ओलीले यही विषयलाई थप बल पुग्नेगरी जेठ १ गतेको भाषण गरेका थिए । उनले ‘मेरिटोक्रेसी’का आधारमा राष्ट्र बैंकमा गभर्नर नियुक्त गर्ने उनको भनाई थियो । प्रधानमन्त्री ओलीले आफ्ना र आफन्त तथा नजिकका व्यक्ती नभएर राष्ट्र बैंकमा क्षमतावान व्यक्ती ल्याउने बताएका थिए ।

उनको इसारा डा. ढुंगानातर्फ नै थियो । यसअघि, पनि प्रधानमन्त्री ओलीले एक कार्यक्रममा सम्बोधन गर्दै राष्ट्र बैंकमा महिला नेतृत्व ल्याउने घोषणा गरेका थिए ।

यस्तै, प्रधानमन्त्री ओलीले गभर्नर नियुक्तीका लागि नेपाली कांग्रेसले दिएको डा. गुणाकर भट्टको नाम समेत पन्छाएका थिए । उनले नरुचाएपछि डा. नीलम ढुंगानाले कार्यकारी निर्देशकको पदबाट राजीनामा दिएका डा. भट्टको राजीनामा स्वीकृत गरेकी थिइनन् ।

यस्तै, डा. ढुंगानालाई गभर्नर बनाउन कै लागि प्रधानमन्त्री ओलीले चैत २४ गते नै नियुक्त गरिसक्नुपर्ने गभर्नर अहिलेसम्म खाली राखेका छन् । यद्यपि, आजको शेरबहादुर उेउवासँगको भेटपछि भने ओलीले मन्त्रीपरिषद्को बैठक बोलाएका छन् । यस्तै, सिफारिस समितिको बैठक डाक्न समेत अर्थमन्त्री विष्णु पौडेललाई भनेका छन् ।