काठमाडौं – राजनीतिक भागबन्डाका कारण देशको केन्द्रीय बैंक गभर्नर विहीन बनेको समयमा सरकारमा रहेका दुई ठुला दलका प्रतिनिधिबीच भेटवार्ता भएको छ । मंगलबार सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको हो । प्रधानमन्त्री सचिवालयका अनुसार प्रधानमन्त्री ओली र देउवाबीच करिब एक घण्टादेखि छलफल जारी छ ।
उनीहरुबीच सोमबार नै भेट्ने तय भएको भएपनि अन्तिम समयमा आएर स्थगित भएको थियो । साेसँगै साेमबारकाे मन्त्रिपरिषद् बैठक समेत स्थगित भएको थियो। सोमबार केन्द्रीय बैंकले १८ औँ गभर्नर पाउने पक्कापक्की थियो । तर, मन्त्रिपरिषद् बैठक स्थगित हुँदा गभर्नर नियुक्तिको प्रक्रिया अगाडि बढ्न सकेन ।
आजको भेटवार्तापछि गभर्नर नियुक्तिको विषयले निचोड पाउने अनुमान गर्न सकिन्छ । गभर्नरमा सभापति देउवाले यसअघि नै अर्थविद् प्रा.डा. विश्व पौडेलको नाम दिइसकेका छन् ।
दुई पटक विघटन भइसकेको गभर्नर सिफारिस समितिमा हाल अर्थमन्त्री विष्णु पौडेलसहित, निवर्तमान गभर्नर महाप्रसाद अधिकारी र अर्थविद् डा.पोषराज पाण्डे रहेका छन् । सिफारिस समितिले योग्य उम्मेदवार छनोट गरी सरकारसमक्ष सिफारिस गर्नेछ । समितिको सिफारिसका आधारमा मन्त्रिपरिषद्ले नयाँ गभर्नर नियुक्त गर्ने कानुनी व्यवस्था छ ।
तर, हालसम्म गभर्नर सिफारिस समितिको एकपटक पनि बैठक बसेको छैन। गत चैत २४ गते नेपाल राष्ट्र बैंकका १७ औं गभर्नर महाप्रसाद अधिकारी आफ्नो पाँच वर्षे कार्यकाल पूरा गरी बाहिरिएपछि नेपाल राष्ट्र बैंक नेतृत्व विहीन छ ।



About Us
प्रतिक्रिया