बैंकिङ्ग समाचार, काठमाडौं ।
एभरेष्ट बैंक लिमिटेडले पुस २५ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको ऋणपत्रमा आवेदन दिने आज (माघ ९ गते) अन्तिम दिन रहेको छ । बैंकले वार्षिक साढे ७ प्रतिशत ब्याजदरमा १० वर्ष अवधिको ‘एभरेष्ट बैंक लिमिटेड उर्जा ऋणपत्र २०८९’ निष्काशन गरेको हो ।
यो ऋणपत्रमा आर्जित ब्याज रकम प्रत्येक आर्थिक वर्षको प्रथम अर्थवार्षिक र दोस्रो अर्धवार्षिक समाप्त भएपश्चात कर कट्टा गरी भुक्तानी गरिनेछ । कम्पनीले प्रतिऋणपत्र रू. १ हजार अंकित दरको रू.२ अर्ब बराबरको २० लाख कित्ता ऋणपत्र निष्कासन गरेको हो । कुल कित्ता ऋणपत्रमध्ये ६० प्रतिशत अर्थात् रू. १ अर्ब २० करोड बराबरको १२ लाख कित्ता व्यक्तिगत तवरबाट विक्री गरिनेछ भने बाँकी ४० प्रतिशत अर्थात् रू. ८० करोड बराबरको ८ लाख कित्ता सर्वसाधारणमा विक्री गर्न लागिएको हो । सर्वसाधारणका लागि निष्काशन गरिएको ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात ४० हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषहरुका लागि छुट्याइएको छ ।
बैंकको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी क्यापिटल मार्केट लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरुसँगै मेरो शेयर अनलाइनमार्फत पनि आवेदन दिन सकिनेछ ।
ऋणपत्र निष्काशनका लागि गराएको क्रेडिट रेटिङ्गमा केयर नेपालले बैंकलाई न्यून कर्जा जोखिम रहेको संकेत गर्ने केयर एनपी डबल ए माइनस रेटिङ्ग प्रदान गरेको छ ।
प्रतिक्रिया