काठमाडौं – कोरोना महामारीपछि आर्थिक क्षेत्रमा हुने आपराधिक घटनाहरूमा पनि वृद्धि भएको छ । आर्थिक अपराधका घटनाहरूले हत्या हिंसाका घटनाहरू जस्तै विकराल रूप लिन थालेको देखिएको छ। कोरोनाले देशमा सिर्जना गरेको आर्थिक अस्थिरता, बेरोजगारी, डिजिटल प्लेटफर्महरूको प्रयोगमा वृद्धिले गर्दा आर्थिक आपराधिक घटनाहरू क्रमशः रूपमा बढी रहेका छन् । नगद आर्जन गर्नका निम्ति सर्वसाधारणले आपराधिक कार्य गर्न अघि सर्दा आर्थिक अपराध बढेको हो।
चेक बाउन्स, हुण्डी, सहकारी ठगी, अनधिकृतरुपले खाता खोल्ने र रकम भुक्तानी जस्ता आर्थिक अपराध बढ्दो स्थितिमा छ । यस्तै, विद्युतीय माध्यमको दुरुपयोग वा अनधिकृत प्रयोग गरी भुक्तानी लिने, अनधिकृत रूपमा कर्जा लिने वा दिने गरेर ठग्ने प्रवृत्ति मौलाएको प्रहरीको तथ्यांकले देखाउँछ । यसैगरी, कर्जाको दुरुपयोग गर्ने, बैंकिङ्ग स्रोत साधन र सम्पत्तिको दुरुपयोग, कागजात वा खाता बही सच्याई किर्ते वा जालसाजी गरी नोक्सानी पुर्याउने जस्ता घटना समेत बढेको तथ्याङ्कमा देखिन्छ ।
प्रहरीका अनुसार आर्थिक अपराधका घटना यतिमै सीमित छैनन् । बैंक तथा वित्तीय संस्था वा सहकारी संघ संस्थालाई झुकाई कारोबार गर्ने, गलत मुल्याङ्कन तथा वित्तीय तयार पार्ने, नेपाल राष्ट्र बैंक ऐन विरुद्धको कसुर जस्ता अपराधहरू घट्ने गरेको छ । नेपाल प्रहरीको तथ्यांक हेर्दा २०७५ सालको तुलनामा २०८२ मा आर्थिक अपराधका घटना तेब्बरभन्दा बढीले बढेको छ ।
कुन वर्ष कति आर्थिक अपराध ?
२०७६ देखि २०७८ साल सम्ममा विश्वव्यापीरुमा फैलिएको कोरोना महामारीले नेपालको अर्थतन्त्रमा प्रत्यक्ष नकारात्मकता असर परेको छ । उक्त समयमा आर्थिक क्षेत्रमा परेको प्रभाव अझैसम्म पनि कम भइसकेको छैन । कोरोना महामारी नियन्त्रण गर्न गरिएको लकडाउनमा आम्दानीका स्रोत खुम्चिएपछि मानिसहरूले आम्दानीका लागि अवैध बाटो रोज्न थालेको देखिन्छ । प्रहरीको तथ्यांक अनुसार कोरोनापछि आर्थिक अपराधका क्षेत्रमा भएका आपराधिक घटनाहरू क्रमशः रूपमा बढी रहेको देख्न सकिन्छ ।
आर्थिक वर्ष २०७५/७६ यता सबैभन्दा धेरै चेक बाउन्सका घटना घटेका छन् । यसपछि हुण्डी कारोबारका घटनाहरू बढिरहेको तथ्यांक प्रहरीको अनुसन्धानले देखाउँछ । आर्थिक वर्ष २०७५/२०७६ मा आर्थिक अपराधसँग सम्बन्धित ३ हजार ३६ वटा उजुरी प्रहरीमा दर्ता भएको छ । उनीहरूको साथबाट प्रहरीले १ अर्ब ५९ करोड १० लाख रुपैयाँ बरामद गरेको छ । उक्त घटनाहरूमा संलग्न रहेका १ हजार १ सय ९३ जना पक्राउ परेका छन् ।
यस्तै, २०७६/२०७७ मा ३ हजार ३ सय १५ वटा उजुरी परेकोमा उनीहरूको साथबाट २ अर्ब ९३ करोड ३७ लाख रुपैयाँ संकलन भएको छ । त्यस घटनामा संलग्न रहेको अभियोगमा प्रहरीले १ हजार २ सय १९ जनालाई पक्राउ गरेको छ । यता २०७७/२०७८ मा कोरोना महामारीका कारणले चहल पहल समेत कम भएकाले आर्थिक अपराध पनि केही हदसम्म कम भएको थियो । उक्त आवमा प्रहरीमा २ हजार ३ सय ६५ वटा उजुरी परेकोमा उनीहरूको साथबाट प्रहरीले ३ अर्ब ३६ करोड ५ लाख रुपैयाँ बरामद गरेको थियो ।

प्रहरीको तथ्यांकअनुसार २०७८/२०७९ मा फेरी आर्थिक क्षेत्रमा घट्ने अपराधहरू बढ्न थालेको थियो । प्रहरीमा सो वर्ष ५ हजार ४ सय १६ वटा उजुरी परेकोमा उनीहरूको साथबाट प्रहरीले १४ अर्ब २१ करोड ७५ लाख रुपैयाँ बरामद गरेको थियो । उक्त घटनाहरूमा संलग्न रहेको अभियोगमा प्रहरीले १ हजार ५ सय ६८ जनालाई पक्राउ परेको थियो । यस्तै, २०७९/२०८० मा आर्थिक क्षेत्रमा हुने आपराधिक घटनाहरू ह्वातै बढेको थियो ।
सो वर्ष अघिल्लो वर्षको तुलनामा ६ हजारभन्दा बढीले बढेर १२ हजार १ सय २८ वटा घटना घटेका छन् । उनीहरूबाट प्रहरीले ६९ अर्ब १५ करोड ८८ लाख रुपैयाँ बरामद गरेको थियो । यस घटनामा संलग्न रहेको अभियोगमा प्रहरीले २ हजार ४ सय ७७ जना जनालाई प्रहरीले पक्राउ गरेको छ ।
त्यस्तै, २०८०/२०८१ मा १३ हजार ३ सय ७३ वटा घटना घटेका छन् । उनीहरूबाट प्रहरीले ३ खर्ब ३० अर्ब ४० करोड ७२ लाख रुपैयाँ बरामद गरेको थियो । यस घटनामा प्रहरीले ४ हजार ५सय ३६ जनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार चालु आवको चैत्र मसान्त सम्ममा ९ हजार ९सय १३ वटा घटना घटेका छन् भने उनीहरूबाट २१ अर्ब ४४ करोड १९ लाख रुपैयाँ बरामद भएको छ । यस घटनामा प्रहरीले २ हजार ५६३ जनालाई पक्राउ गरेको छ ।





About Us
प्रतिक्रिया