वित्तीय अपराध अनुसन्धान गर्न ‘डेडिकेटेड’ निकाय, बन्यो आर्थिक अपराधका महाशाखा


काठमाडौं – नेपाल प्रहरीले आर्थिक अपराधका घटनालाई अनुसन्धान गर्नका लागि ‘डेडिकेटेड’ निकायको स्थापना गरेको छ । प्रहरीले आर्थिक क्षेत्रमा घट्ने गरेका आपराधिक घटनालाई मिहिन ढंगले केलाउने लक्ष्यसहित आर्थिक अपराध महाशाखा स्थापना गरेको हो । महाशाखाको प्रमुखमा प्रहरीका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) होबिन्द्र बोगटी नियुक्त भएका छन् ।

अहिले मुलुकमा देखिएको आर्थिक अपराधको अवस्थालाई मध्यनजर गरी प्रहरीले यस महाशाखाको स्थापना गरेको हो । नेपालमा आर्थिक अपराधका लागि विभिन्न कानुनहरू भए पनि प्रभावकारी ढंगले गहिराइमा पुगेर अनुसन्धान हुन सकेको छैन ।यसको मुख्य कारण आर्थिक अपराधसँग सम्बन्धित घटनालाई नजिकबाट नियाल्ने र अनुसन्धान गर्ने गरी छुट्टै निकाय नहुँदा समस्या परिरहेको थियो । यस्तै, अनुसन्धान नै फितलो भएपछि ती ऐन तथा कानून लागु भएको समेत थिएन । जसले गर्दा पछिल्लो समयमा आर्थिक क्षेत्रमा आपराधिक घटनाहरू बढी रहेका छन् ।

छिटो छरितोरुपमा सम्पत्ति कमाउने लक्ष्यसहित कानुनले नगर भनेको काम गरी अवैध सम्पति आर्जन गर्नेहरुको संख्या बढ्दो छ । अहिले आर्थिक अपराधसँग सम्बन्धित घटना नेपाल प्रहरीको मूख्य निकाय र केन्द्रीय अनुसन्धान ब्यूरो तथा विभिन्न महाशाखाले गर्दै आइरहेका थिए । अबदेखि आर्थिक अपराधसँग सम्बन्धित घटना अनुसन्धान केन्द्रीकृत गर्ने लक्ष्यसहित प्रहरीले आर्थिक अपराध महाशाखा सञ्चालनमा ल्याएको हो ।

यता गृह मन्त्रालयले पनि आर्थिक क्षेत्रमा हुने आपराधिक घटनाको अनुसन्धानका लागि आर्थिक तथा वित्तीय अनुसन्धान ब्युरो स्थापना भनेको थियो । तर, त्यो योजना भने गृह मन्त्रालयमा नै सेलाएपछि प्रहरीले यस महाशाखाको गठन गरेको हो ।

यस महाशाखाले बैंकिङ्ग कसुर, क्रिप्टो कारोबार, सटेट्बाजी, आर्थिकरुपमा हुने ठगी, वालेट ठगी लगायत क्षेत्रको अनुसन्धान गर्ने छ । यस्तै, चोरी, कर छली, हुण्डी र सहकारीको रकम अपचलन, बीमा ठगी जस्ता आपराधिक घटनालाई हालको भन्दा थप प्रभावकारी ढगंले ब्युरोले जनाएको छ । आर्थिक महाशाखा आर्थिक अपराधमा मात्र केन्द्रित हुने भएकाले आर्थिक अपराधका घटनालाई अनुसन्धान गर्न सहज हुने ब्युरोले बताएको हो ।

नेपाल प्रहरीका केन्द्रीय प्रहरी पवक्ता रमेश थापाका अनुसार यस महाशाखाको गठन आर्थिक क्षेत्रमा भइरहेका संगठित र जघन्य अपराधहरूलाई विशेष रूपमा अनुसन्धान गर्नका लागि गरिएको हो । केन्द्रीय अनुसन्धान ब्युरोको मातहतमा रहेर यस महाशाखाको स्थापना गरिएको उनले बताए ।

वित्तीय अपराधमा हुने घटनाहरूको रफ्तार बढेसँगै प्रहरीले यस महाशाखाको निमार्ण गरेकाे हो । महाशाखाले आर्थिक अपराधमा परेकाहरूलाई थप प्रभावकारी हुने उनले बताए । उनका अनुसार आर्थिक अपराध महाशाखा छिट्टै नै आर्थिक अपराध अनुसन्धान ब्युरोमा रुपान्तरण भई छुट्टै ब्युरो बनाउने कार्य योजना गृह मन्त्रालयमा पठाएको र गृहबाट समेत स्वकृति आइसकेको छ । यसपछि यसलाई केन्द्रीय अनुसन्धान ब्युरोको मातहतबाट छुट्टै विभाग बनाइने उनले बताए ।