माछापुच्छ्रे बैंकले नेपालमै पहिलोपटक ल्यायो एसएमएस प्रमाणिकरण प्रविधि

माछापुच्छ्रे बैंकले नेपालमै पहिलोपटक ल्यायो एसएमएस प्रमाणिकरण प्रविधि


बैंकिङ्ग समाचार, काठमाडौं ।
डिजिटल बैंकिङ्ग क्षेत्रमा नयाँ आयामहरु थप गर्दै आएको माछापुच्छ्रे बैंकले आफ्नो मोवाइल बैंकिङ्ग एप एमबिएल एम स्मार्टलाई अझ बढि सुरक्षित र भरपर्दो बनाउने उदेश्यका साथ नयाँ प्रविधि थप गरेको छ ।

बैंकले पछिल्लो समय मोबाइल बैंकिङ्ग एपमार्फत देखिएका विभिन्न शंकास्पद गतिविधिहरू र अनाधिकृत कारोबारहरू कम गर्न र ग्राहकलाई सुरक्षित राख्न आफ्नो मोबाइल बैंकिङ्ग एप एमबिएल एम स्मार्टमा नेपाल मै पहिलोपटक उच्च सुरक्षा सतर्कताका साथ एसएमएस प्रमाणिकरण प्रविधि थप गरेको बताएको छ ।

मोबाइल बैंकिङ्गमा हाल ओटिपी सेयरमार्फत् सबैभन्दा धेरै अनाधिकृत कारोबारहरु भइरहेको पाइएको छ । विभिन्न लक्की ड्र, ठुलो रकमको चिठ्ठा परेको लगायतका प्रलोभन देखाएर आफ्नो मोबाइलमा प्राप्त हुने ओटिपी सेयर गर्न लगाई ह्याक्रहरुले ठुलो मात्रामा अनाधिकृत कारोबारहरु गरिरहेको पाइएको अहिलेको समयमा उक्त समस्यालाई रोक्नका लागि आफ्नो एपमा नयाँ प्रविधिको सुरुवात गरेको हो ।

बैंकले यस प्रविधिको सुरूवात गरेसँगै ग्राहकबाट ओटिपी प्राप्त गरी मोबाइल बैंकिङ्गमा पहुँच प्राप्त गर्ने सम्भावना बन्द भएको बैंकको भनाइ छ । 

बैंकका अनुसार यो सेवा थप गरेसँगै बैंकका ग्राहकहरूको मोबाइल बैंकिङ्ग सेवा थप सुरक्षित र भरपर्दो बन्न पुगेको छ । 

स्मार्ट बैंकको रूपमा बैंकले आफ्ना ग्राहकहरूलाई सहज र सुरक्षित डिजिटल भुक्तानीका माध्यमहरू प्रदान गर्दै आएको र विभिन्न बैंकिङ्ग सुविधाहरू प्राप्त गर्न बैंकको कार्यालयसम्म पुग्नै नपर्ने गरी सेवा प्रदान गरिरहेको छ ।