काठमाडौं – ‘स्वेता श्री’ फाउन्डेशनको बदमासीका कारण सिन्धुपाल्चोकको चौतारास्थित साँगाचोकगढीको सिंगो माझी बस्ती नै कालोसूचीमा परेको छ । २०७२ सालमा गएको भूकम्पले भएको क्षतिपछि पुनर्निर्माण लागि पुगेको फाउन्डेशनले बदमासी गर्दा सिंगो माझी बस्ती नै कालोसूचीमा परेको हो ।
२०७२ सालको गोरखा भूकम्पपछि पुनर्निर्माणको प्रक्रियामा फाउन्डेशनले सिन्धुपाल्चोकको चौतारा–साँगाचोकगढी नगरपालिका–१४ डडुवामा ५६ घर माझी बस्ती बनाइदिने सम्झौता गरेको थियो। फाउन्डेशनको सम्झौता बमोजिम ५५ वटा घर बनिसकेको छ । जसमध्ये ३९ वटा घर कालोसूचीमा परेको पुष्टि भएको छ।
माझी बस्तीमा कसले कति लगानी गरेर नमूना माझी बस्ती बनाउने भन्ने विषयमा स्पष्ट बुझाइ नहुँदा अहिले पुरै बस्ती कालोसूचीमा परेको वडाअध्यक्ष उद्धव नेपाल बताउँछन् । ‘अहिले उहाँहरू अझ भनौँ बस्ती नै कालोसूचीमा पर्नुको मुख्य कारण भनेको आफूहरूले ऋण लिएको भन्ने जानकारी नै नपाउनु हो’ बैंकिङ्ग समाचारसँगको कुराकानीमा नेपालले भने ।
फाउन्डेशनले भूकम्पपछि पुनर्निर्माणका लागि राज्यकोषबाट आउने ३ लाख रुपैयाँ समेत लिएको थियो। यसबाहेक, अन्य विभिन्न व्यवसायीक घरानाबाट समेत फाउन्डेशनले सहयोग संकलन गरेको थियो । तर, यी सबै सेवा र सुविधाका बाबजुत बस्तीलाई जानकारी नै नदिएर फाउन्डेशनले सिंगो माझी बस्ती कालोसूचीमा पर्ने गरी काम गरेको पाइएको हो।
यसरी बाहिरियो तथ्य
फाउन्डेशनको बदमासीले माझी बस्तीकाहरूलाई बैंकबाट ऋण लिएका छौं भन्ने समेत पनि जानकारी भएन । गत असोजमा भएको अविरल वर्षाले नमुना माझी बस्तीका करिब ४/५ घरमा पहिरो गयो । वडाले ती बस्तीको सुरक्षाको लागि स्थानीय सरकार नगरपालिकामा राहतका लागि पहल गर्यो । बस्तीकालाई स्थानीय सरकारले केही अनुदान रकम उपलब्ध गराउने भयो। जसका लागि बैंक खाता खोल्नुपर्ने भयो ।
त्यसपछि वर्षाले ढलेका घर उठ्ने खुसीले स्थानीय बैंकसम्म पुगे । त्यतिबेला उनीहरूलाई थाहा भयो कि उनीहरू कालोसूचीमा रहेछन् । नेपालकाअनुसार वडाले एउटा बस्तीको यतिका परिवार कालोसूचीमा परेको जानकारी पाउने बित्तिकै स्थानीय सरकार र जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयलाई जानकारी गराएको छ । उनी माझी बस्तीमा गएको कर्जा कसरी असुल गरेर बस्तीलाई कालोसूचीबाट निकाल्ने भनेर छलफलका लागि आफूहरूले पहल गरिरहेको बताउँछन् ।

संसदमै उठ्यो विषय
नेकपा माओवादी केन्द्रकी सांसद उर्मिला माझीले अभिनेत्री स्वेता खड्काका कारण ५५ घर माझी परिवार कालोसूचीमा परेर विस्थापित बनेको बताउँदै आएकी छिन् । प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले ५५ घरधुरी माझी समुदाय बैंकको कालोसूचीमा परेर बस्ती नै लिलाम हुने परिस्थिति सिर्जना भएको बताइन् । माझीले भूकम्पबाट घर भत्किएको माझी बस्ती पुनर्निर्माण गर्ने अभियान थालेकी खड्काले आफ्नो वचन पूरा नगरी बीचमै छाडेर हिँड्दा सिंगो माझी बस्ती नै कालोसूचीमा आरोप लगाइन्।
‘उहाँले सेवाको भावनाले माझी बस्ती पुनर्निर्माण गर्ने अभियान थाल्नुभयो, जनसेवा देखाउन खोज्नुभयो। तर, त्यो कर्तव्य निर्वाह गर्न सक्नुभएन, जसले गर्दा माझी बस्ती नै लिलाम हुने अवस्थामा पुग्यो’ माझिले भनिन् । बस्ती बन्ने खुसीले धेरै कुराको चासो नराखी स्थानीयले फाउन्डेशनले हस्ताक्षर गर्न लगाए अनुसार स्थानीयले हस्ताक्षर गर्दै गए । हाल बस्तीले राज्यबाट पाउने सुविधा समेत कालोसूचीका कारण प्राप्त गर्न सकेका छैनन्। बस्तीलाई कालोसूचीबाट हटाउन पहल गर्न पनि विभिन्न किसिमका चुनौतीहरू सिर्जना भइरहेका छन्।
साँगाचोकगढी नगरपालिकाका प्रमुख कृष्ण प्रसाद सापकोटा माझी बस्ती अन्यायमा परेको बताउँछन् । उनले फाउन्डेशनले बस्तीका मानिसलाई जानकारी नै नदिई धितो राखेर ऋण लिन हस्ताक्षर गरेको बताउँछन्। फाउन्डेसनले व्यवसायीपूर्ण ढंगले काम गरेको भन्दै हरेक सुविधाबाट बस्ती नै वञ्चित हुँदै आएको बताए।
यता, स्वेता श्री फाउन्डेशनकी सञ्चालक स्वेता खड्का भने आफूहरूले तिर्नुपर्ने कर्जा नभएको दाबी गर्छिन् । आफ्नो परिवार नै धितो बसेर लिएको ऋणमा आफ्नो नाम जोड्दा मिनाहा हुन्छ कि भन्ने सोच राखेर राजनीतिक चलखेल गर्न लागेको उनको भनाइ छ । ‘मैले तिर्नुपर्ने लोन होइन । उहाँहरूको पर्सनल लोनलाई लिएर मेरो नाम जोडिएको छ ।’ खड्काले पहिला पनि अदालतमा यो विषय पुगेको भन्दै आफू जिम्मेवार नरहेको समेत बताइन्।





About Us
प्रतिक्रिया