काठमाडौं – राष्ट्रपति, सभामुख, प्रधानन्यायाधीश र मुख्य सचिवसम्ममा महिलालाई अवसर दिएर प्रधानमन्त्री केपी शर्मा ओलीले महिलामैत्री छवि बनाएका छन् । विगतदेखि नै महिलालाई असक्षम र घर गृहणीकारुपमा चित्रित गरिँदै आएकामा प्रधानमन्त्री ओलीले यो तथ्यलाई कयौँ पटक गलत साबित गरिसकेका छन् ।
उनले नेपालको इतिहासमा नै दुई–दुई पटक महिला राष्ट्रपति चुने । यस्तै, न्यायमूर्तिकारुपमा समेत सुशीला कार्कीलाई सक्षम देखेर प्रधानन्यायाधीश बनाउन भूमिका खेले । त्योभन्दा अघि प्रतिनिधिसभाको सभामुखको भूमिकामा समेत ओनसरी घर्ती मगर ओलीकै कार्यकालमा नियुक्त भइन्।
यसबाहेक, कर्मचारीतन्त्रको सबैभन्दा महत्त्वपूर्ण र उच्च ओहोदाको पद मुख्यसचिवमा समेत लीलादेवी गड्तौलालाई आफ्नै कार्यकालमा ओलीले नियुक्त गरे । यस आधारमा प्रधानमन्त्री ओली विगतदेखि नै महिलालाई अघि बढाउने र सक्षम वा काबिललाई नेतृत्व दिन नहिचकिचाउने व्यक्तीत्वकारुपमा छवि बनाइसकेका छन् ।
तर, राज्यका प्रमुख ५ स्थानमा पहिलो महिला नेतृत्व स्थापित गरेर उत्कृष्ट छवि बनाइसकेपनि ओलीले अहिलेसम्म वित्तीय क्षेत्रको प्रमुखकारुपमा महिलालाई ल्याउन सकेका छैनन् । र, त्यो अवसर यतिबेला कुरेर बसेको छ । प्रधानमन्त्री ओली समेत यो अवसर फेरी फर्केर नआउनेमा विश्वस्त भएरै डा. नीलम ढुंगानालाई पहिलो गभर्नर बनाउने जोडबल गरिरहेका छन् ।
यसअघि, डा. ढुंगानालाई पहिलो महिला डेपुटी गभर्नर बनाउने समेत उनै ओली हुन् । उनकै कार्यकालमा डा. ढुंगाना नेपाल राष्ट्र बैंकको इतिहासमा पहिलो महिला डेपुटी गभर्नर हुन् । यहीकारण, प्रथम महिला गभर्नर नियुक्त गरेर आफूलाई इतिहासमा दर्ज गर्ने दाउमा ओली छन् ।
तर, ओलीको यो दाउमा प्रमुख सत्ता साझेदार नेपाली कांग्रेस बाधकको भूमिकामा देखिएको छ । कांग्रेस जुनसुकै हालतमा डा. ढुंगानालाई गभर्नर नदिने पक्षमा अडिक छ । यहीकारण, अन्य सबै निकाय छाडेर पनि राष्ट्र बैंक आफ्नो भागमा पार्ने ध्याउन्नमा केन्द्रित छ ।
यद्यपि, ओली समेत आफ्नै कार्यकालमा महिला गभर्नर नियुक्त गरेर देशको प्रमुख वित्तीय क्षेत्रमा महिला प्रतिनिधित्व पुर्याउन जोडबलमै छन् । सिफारिस समितिले गर्ने ३ जनाको नामको सिफारिसमा डा. ढुंगानालाई पनि पार्ने योजनामा ओली छन् । तर, सिफारिस समितिको सिफारिसमा डा. ढुंगाना परेमा ओलीले जुनसुकै समयमा गभर्नर नियुक्त गर्न सक्नेमा कांग्रेस सचेत देखिन्छ।
यहीकारण, नेपाली कांग्रेसले डा. ढुंगानाको नाम नै सिफारिस नगर्ने नीति लिएको छ । यद्यपि, प्रधानमन्त्री ओली भने देशमा पहिलो राष्ट्रपति, पहिलो सभामुख, पहिलो प्रधानन्यायाधीश, पहिलो मुख्यसचिव र पहिलो डेपुटी गभर्नरसम्म महिलालाई बनाएकोमा गभर्नरमा समेत बनाउनेमा अडिग देखिन्छन् । र, यो तथ्यलाई प्रधानमन्त्रीले नजिकबाटै नियालिरहेको उनका सचिवालयका सदस्यहरू बताउँछन् ।



About Us
प्रतिक्रिया