नेपाल इन्भेष्टमेन्ट र मेगा बैंकको एकीकृत कारोबार आजबाट सुरु, कुल पूँजी ५८ अर्ब पुग्यो

नेपाल इन्भेष्टमेन्ट र मेगा बैंकको एकीकृत कारोबार आजबाट सुरु, कुल पूँजी ५८ अर्ब पुग्यो


बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंकको एकीकृत कारोबार आजदेखि हुने भएको छ । दुवै बैंकबीच नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नामबाट आज (पुस २७ गते, बुधबार) देखि एकीकृत कारोबार हुने भएको हो ।

यी दुई कम्पनी एक आपसमा गाभिएपछि नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको नामबाट एकीकृत कारोबार शुरू हुन लागेको हो । गत पुस ७ गते बसेको दुवै बैंकको छुट्टाछुट्टै वार्षिक साधारण सभाले मर्जरमा जाने प्रस्ताव पारित गरेका थिए ।

दुवै बैंक १००:९० को स्वाप रेसियोमा मर्ज हुने भएका हुन् । इन्भेष्टमेन्ट बैंकको एक कित्ता सेयर बराबर मेगा बैंकको ०.९० कित्ता हुनेछ ।

नेपाल राष्ट्र बैंकले पनि ती कम्पनीलाई मर्जरमा जान गत पुस १७ गते अन्तिम स्वीकृति प्रदान गरेको थियो । हाल इन्भेष्टमेण्ट बैंकको चुक्तापूँजी १८ अर्ब ३० करोड रुपैयाँ र मेगा बैंकको चुक्तापूँजी १६ अर्ब १२ करोड रुपैयाँ रहेको छ । मर्जरपछि बन्ने कम्पनीको केन्द्रीय कार्यालय हाल नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको केन्द्रीय कार्यालय रहेको काठमाडौं जिल्ला वडा नं १ दरबारमार्गमा रहने छ ।

मर्जर पश्चात् नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको जगेडा कोष १९ अर्ब ७५ करोड रुपैयाँ, निक्षेप संकलन ३ खर्ब ६० अर्ब रुपैयाँ र कर्जा प्रवाह ३ खर्ब २९ अर्ब रुपैयाँ पुगेको छ । यसैगरी बैंकको कुल सम्पत्ति ४ खर्ब ७१ अर्ब रुपैयाँ र कुल पूँजी ५८ अर्ब रुपैयाँ पुगेको छ । 

मर्जर पश्चात् बैंकको शाखा कार्यालय २९६ वटा र एटीएम संख्या २७९ वटा पुगेको छ । त्यस्तै, एक्स्टेन्सन काउण्टर ५९ र ग्राहक संख्या करीब ३० लाख पुगेको कम्पनीले बताएको छ ।