डा. भट्टको राजीनामा स्वीकृत नभएपछि विकल्प खोज्दै काँग्रेस, विश्व पौडेलमाथि देउवाको ‘राडार’


काठमाडौं – नेपाली काँग्रेसले १८औँ गभर्नरकारुपमा ‘फाइनल’ गरेपनि राजीनामा स्वीकृत नभएपछि डा. गुणाकर भट्टको विकल्प खोज्न थालेको छ । काँग्रेस सभापति शेरबहादुर देउवाले नै डा. भट्टको विकल्प खोज्न थालेका हुन् ।

यसअघि, देउवाकै आश्वासन पाएपछि डा. भट्टले कार्यकारी निर्देशकको पदबाट राजीनामा दिइसकेका छन् । तर, कायम मुकायम गभर्नर डा. नीलम ढुङ्गानाले स्वीकृत गरेकी छैनन् । यसअघि, डा. प्रकाशकुमार श्रेष्ठको समेत राजीनामा स्वीकृत भएको थिएन ।

राजीनामा दिएको १ महिनासम्म स्वीकृत नभए अस्वीकृतमा जाने प्रावधान छ । यहीबमोजिम डा. भट्टको राजीनामा ढुङ्गानाबाट स्वीकृत हुने सम्भावना न्यून बन्दै गइरहेको छ । यही कारण, काँग्रेसले गभर्नरमा अर्को विकल्प खोज्न थालेको हो ।

डा. भट्टको सम्भावना कमजोर बन्दै गएपछि सभापति देउवाले आफू निकष्टथहरुलाई भावी गभर्नरकारुपमा ‘स्क्यान’ थालेका छन् । देउवा पत्नी आरजु राणा देउवाले नबिल बैंकका निवर्तमान प्रमुख कार्यकारी निर्देशक ज्ञानेन्द्र ढुङ्गानालाई अघि बढाइसकेकी छिन् । तर, अहिलेसम्म आरजुको यो प्रस्तावलाई देउवाले मानिसकेका छैनन् ।

सोहीकारण, देउवाले गभर्नर सिफारिस समितिमै रहेका डा. विश्व पौडेललाई गभर्नरकारुपमा अघि बढाउने तयारी थालेका छन् । डा. पौडेलले राष्ट्रिय योजना आयोगको उपाध्यक्षको भूमिकामा एक कार्यकालको अनुभव सँगालिसकेका छन् । यस्तै, देउवाले नेपाल राष्ट्र बैंककै पूर्व कार्यकारी निर्देशक पिताम्बर भण्डारीलाई समेत अघि बढाएका छन् ।

भण्डारीले समेत बैंकिङ्ग समाचारसँगको कुराकानीमा गभर्नर बन्न आफूले तयारी थालेको जानकारी दिए । उनले भने, ‘कार्यकारी निर्देशकको भूमिकाबाट रिटायर भइसकेकाले मेरो अनुभव पनि पुग्छ ।’ यस्तै, पदबाट राजीनामा समेत दिन नपर्ने भएकाले भावी गभर्नरकारुपमा आफू काबिल व्यक्तीत्व भएको भण्डारीको दाबी छ ।