काठमाडौं – कल सेन्टरको नाममा अवैध अनलाइन सट्टे बाजी सञ्चालन गर्ने २८ जना पक्राउ परेका छन् । उनीहरूलाई काठमाडौंको बालुवाटारस्थित निमिता राजेश्वरी शाहको घरबाट प्रहरीले पक्राउ गरेको हो । उक्त स्थानबाट सुशान्त राई, रेग्मी, बाबुराम चापागाईँले बल सेन्टर स्थापना गरी सर्वसाधारणलाई बढी रकम दिने प्रलोभन देखाई अनलाइन बेटिङ एप्सको प्रयोग गरी अनलाइन क्यासिनो तथा सट्टेबाजी खोल्न प्रोत्साहन गरी गैर कानुनी काममा लगाएको केन्द्रीय अनुसन्धान ब्युरोले जनाएको छ ।
उक्त कार्यमा संलग्न रहेका सुशान्त राई र सजक बहादुर अधिकारीविरुद्ध मुद्दा दर्ता नै गरेको र अन्य २६ जनामाथि अनुसन्धान गरी रहेको ब्युरोका प्रवक्ता युवराज खड्काले बताएका छन् । उनीहरूको साथबाट ल्यापटप ६ वटा, सिपियु २५ वटा, मोबाइल २ वटा, मनिटर २६ वटा, चार्जर १५ वटा, डिभिआर १ वटा, टिभी १ वटा, किबोर्ड २५ वटा, माउस २५ वटा, हेडफोन २० वटा र राउटर २ वटा गरी जम्मा १४८ वटा समान बरामद गरेको ब्युरोले जनाएको छ ।
सो कल सेन्टरमा काम गर्ने कर्मचारीहरूले ग्राहकलाई अनलाइन जुवा तथा सट्टे बाजी खेल्न प्रोत्साहन गरी अनलाइन बेटिङ एप्सको माध्यमबाट जुवा खेलाएको खुल्न आएको प्रवक्ता खड्काले जनाए । पक्राउ परेकामध्ये दुई जनाले केही महिनाबाट ३ देखि ७ दिनसम्मको तालिम सञ्चालन गरेको खड्काले बताएका छन् ।
प्रतिक्रिया