बैंकहरुबीच अस्वस्थ प्रतिस्पर्धा हटाएर सक्षम र सबल बनाउन मर्जर नीति ल्याउनुपर्योः गभर्नर

बैंकहरुबीच अस्वस्थ प्रतिस्पर्धा हटाएर सक्षम र सबल बनाउन मर्जर नीति ल्याउनुपर्योः गभर्नर


बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले धेरै संख्यामा रहेका बैंक तथा वित्तीय संस्थाबीच अस्वस्थ प्रतिस्पर्धा बढेपछि बैंक तथा वित्तिय संस्थाहरुलाई सक्षम र सबल बनाउने उदेश्यले मर्जर नीति ल्याइएको बताएका छन् । उनले मर्जरले बैंक तथा वित्तीय क्षेत्रमा शुसासन कायम गर्न पनि सहयोग पुर्याउने बताए ।

सोमबार ग्लोबल आईएमई र बैंक अफ काठमाडौँको मर्जर पश्चात ‘ग्लोबल आईएमई’ बैंकको एकिकृत कारोबार सुभारम्भ कार्यक्रममा बोल्दै गर्भनर अधिकारीले यस्तो बताएका हुन् ।

कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले भने, ‘बैंक तथा वित्तीय संस्थाको आगमनले फाइनान्सियल एक्सेस बढाउने लक्ष्य राखिएको भएपनि त्यसको विपरित लक्ष्यभन्दा तिव्र गतिमा संस्थाहरुबीच अस्वस्थ प्रतिस्पर्धा बढ्यो । फलस्वरु अर्थतन्त्रले सहि योगदान नपाउने अवस्था आयो ।’ उनले थप भने, ‘उल्टै वित्तीय मध्यस्थता सम्बन्धित लागत प्रसस्त मात्रामा बढ्यो । त्यसैले गर्दा मर्जरको नीति आएको हो । बैंक तथा वित्तीय क्षेत्र मर्ज हुँदा सक्षम र सबल हुनेछन्, सुशासन कायम हुनेछ’

त्यस्तै, उनले बैंक तथा वित्तीय संस्थाको मर्जरले बैंकहरू ठूला र सबल बन्दै जाँदा वित्तीय मध्यस्थता लागत घट्दै गएको बताए । उनले भने, ‘एक दशकमा २ सय ४७ वटा संस्थाहरू मर्ज भइसकेका छन् । यी संस्थाहरू मर्ज भएर जम्मा ६८ वटा संस्थाहरू मात्रै कायम भएका छन् । झन्डै दुई सय संस्थाहरूको लाइसेन्स खारेज भएको छ । यसो हुँदा वित्तीय मध्यस्थताको लागत पनि घट्दै गएको छ ।’ 

वित्तीय संस्थाहरू मर्ज हुँदा हाम्रो वित्तीय प्रणाली थप मजबुत हुने उनको तर्क रहेको छ । मर्जरपछि बैंक तथा वित्तीय संस्थाको योगदान अर्थतन्त्रमा धेरै नै हुने उनको भनाई रहेको छ ।