एभरेष्ट बैंकले आजदेखि २० लाख कित्ता उर्जा ऋणपत्र निष्काशन गर्दै

एभरेष्ट बैंकले आजदेखि २० लाख कित्ता उर्जा ऋणपत्र निष्काशन गर्दै


बैंकिङ्ग समाचार, काठमाडौं ।
एभरेष्ट बैंक लिमिटेडले आजदेखि १० वर्षे अवधिको ऋणपत्र निष्काशन गरेको छ । बैंकले वार्षिक साढे ७ प्रतिशत ब्याजदर रहेको ‘एभरेष्ट बैंक लिमिटेड उर्जा ऋणपत्र २०८९’ नामको ऋणपत्र निष्काशन गरेको हो । यो ऋणपत्रमा आर्जित ब्याज रकम प्रत्येक आर्थिक वर्षको प्रथम अर्थवार्षिक र दोस्रो अर्धवार्षिक समाप्त भएपश्चात कर कट्टा गरी भुक्तानी गरिनेछ ।

बैंकले प्रति ऋणपत्र रू. १ हजार अंकित दरको रू.२ अर्ब बराबरको २० लाख कित्ता ऋणपत्र निष्काशन गरेको हो । कुल कित्ता ऋणपत्रमध्ये ६० प्रतिशत अर्थात रू. १ अर्ब २० करोड बराबरको १२ लाख कित्ता व्यक्तिगत तवरबाट बिक्री गरिनेछ भने बाँकी ४० प्रतिशत अर्थात रू. ८० करोड बराबरको ८ लाख कित्ता सर्वसाधारणमा बिक्री गरिनेछ । 

सर्वसाधारणका लागि निष्काशन गरिने ऋणपत्रमध्ये पनि ५ प्रतिशत अर्थात ४० हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषहरुका लागि छुट्याइएको छ । यो ऋणपत्र खरीदका लागि न्यूनतम २५ कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था छ । छिटोमा पुस २९ गतेसम्म विक्रीको मिति तय गरेको बैंकले सो अवधिसम्म माग बमोजिम आवेदन नपरेमा भने ढिलोमा माघ ९ गतेसम्म विक्री अवधि लम्बिनेछ ।

बैंकको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी क्यापिटल मार्केट लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरुसँगै मेरो शेयर अनलाइनमार्फत पनि आवेदन दिन सकिनेछ ।

ऋणपत्र निष्काशनका लागि गराएको क्रेडिट रेटिङ्गमा केयर नेपालले बैंकलाई केयर एनपी डबल ए माइनस रेटिङ्ग प्रदान गरेको छ । यसले न्यून कर्जा जोखिम रहेको संकेत गर्दछ ।