काठमाडौं – १८औं गभर्नर नियुक्ति प्रक्रियामा नयाँ ‘ट्वीस्ट’ आएको छ । गभर्नर नियुक्ति प्रक्रियामा सत्ताधारी राजनीतिक दलहरुबीच कुरा नमिलेको भनिरहँदा फेरी नयाँ ‘ट्वीस्ट’ आएको हो ।
दुई सत्ताधारी राजनीतिक दलहरु नेपाली कांग्रेस र नेकपा एमाले गभर्नर नियुक्तिमा आ–आफ्नै अडानमा छन् । यहीकारण, गभर्नर नियुक्त हुन नसकेको बताइरहँदा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा दम्पत्तिबीच नै कुरा नमिलेको तथ्य बाहिरिएको छ ।
सभापति देउवा जुनसुकै हालतमा डा. गुणाकर भट्टलाई गभर्नर बनाउन चाहन्छन् । देउवाको आश्वासन पाएपछि डा. भट्टले कार्यकारी निर्देशकको पदबाट राजीनामा दिइसकेका छन् । यद्यपि, स्वीकृत भने भइसकेको छैन ।
तर, देउवा पत्नी आरजु राणा देउवाले अन्तिम घडीमा नबिल बैंकका निवर्तमान प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र ढुंगानालाई अघि सारेकी छिन् । ज्ञानेन्द्रले गभर्नर बन्नकै लागि भनेर पदबाट राजीनामा दिइसकेका छन् । राजीनामा दिएको साता दिन नवित्दै उनको चर्चा खुम्चिएको थियो ।
तर, गभर्नर नियुक्ति प्रक्रिया अन्तिम चरणमा पुग्नै लाग्दा ज्ञानेन्द्र ढुंगाना बलिया आकांक्षीकोरुपमा बाहिर आएका छन् । उनलाई देउवा पत्नी आरजु राणाले गभर्नर बनाउने ‘लविइङ’ सुरु गरेकी छिन् । यो सूचना प्रधानमन्त्री केपी शर्मा ओली समक्ष पनि पुगेको छ ।
प्रधानमन्त्री ओलीलाई देउवा दम्पत्तिले फरक–फरक व्यक्तीको नाम दिएपछि गभर्नर नियुक्ति प्रक्रिया झनै पेचिलो बनेको छ । प्रधानमन्त्री ओलीले देउवा दम्पत्तिलाई मिलेर आउन भनेका छन् । एकै घरका दुई व्यक्तिले दुई फरक व्यक्तीको नाम ल्याउँदा समस्या हुने भएकाले मिलेर आउन प्रधानमन्त्री ओलीले सुझाव दिएको बालुवाटार स्रोतले बैंकिङ्ग समाचारलाई जानकारी दियो ।
देउवा दम्पत्ति मिलेर नआएमा कायम मुकायम गभर्नर डा. नीलम ढुंगानालाई गभर्नर बनाउने तयारीमा प्रधानमन्त्री ओली जुटेका छन् । तर, सिफारिस समितिबाटै डा. नीलमको नाम सिफारिस रोक्ने दाउमा कांग्रेस छ । लामो समयसम्म डा. नीलम र डा. भट्ट गरी दुई जनामा रहेको गभर्नर बन्ने नामको सूचीमा ज्ञानेन्द्र ढुंगानाको जोड्दार ‘इन्ट्री’ले ट्वीस्ट ल्याइदिएको छ ।






About Us
प्रतिक्रिया