काठमाडौं – नेपालमा विदेशी पर्यटकको आवागमन बढ्दै गएपछि होटल तथा टुरिजम क्षेत्रमा लगानी समेत बढ्न थालेको छ । पर्यटन बोर्डको तथ्यांकअनुसार सन् २०२४ को जनावरीदेखि डिसेम्बर महिनासम्म ११ लाख ४७ हजार पाँच सय ६७ पर्यटक भित्रिएका छन् । यसले नेपाल पर्याप्तरुपमा विदेशी पर्यटकको आवागमन पुष्टि गर्छ । र, यो अझै बढ्दो अवस्थामा छ । पर्यटक बढेसँगै पर्यटनमा व्यवसायीको लगानी समेत बढ्दै गइरहेको छ । यहीकारण, नेपालमा पाँचतारे होटलमा लगानीको क्रम समेत बढ्दो छ । होटलको संख्या र लगानी बढेपछि दोस्रो बजारमा सूचीकृत हुने होटलहरुको संख्या समेत बढ्दै गएको छ । यो क्षेत्रमा लगानी र लगानीको सम्भावना बढेसँगै स्थापित उद्योगहरू दोस्रो बजारमा आकर्षित हुन थालेका छन् ।
हालसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा होटल तथा पर्यटन समूहमा हालसम्म ६ वटा कम्पनी सूचीकृत भएका छन् । नेप्सेका अनुसार सिटि होटल, सोल्टी, चन्दागिरी हिल्स, ओरियन्टल र तारागाँउ होटल कम्पनीहरु सुचीकृत भएर कारोबार भइरहेका छन्। यस्तै, कालिन्चोक दर्शन केबलकार समेत नेप्सेमा सूचीकृत छ । यीबोहक, थप ९ वटा कम्पनी समेत नेप्सेमा सूचीकृत हुने तरखरमा छन् । यसका लागि नेपाल धितोपत्र बोर्ड (सेबोन)मा अनुमति माग्दै आवेदन दिएका छन् । एपेक्स हस्पिटालिटी, होटल फरेस्ट इन, अर्किड होल्डिङ, आकामा होटल, ठमेल प्लाजा होटल एण्ड सुइटस्, वर्णबास म्यूजिएम एण्ड होटल, अन्नपूर्ण केबलकार, बन्दीपुर केबलकार र माउन्टेन ग्लोरीले सेबोनसँग अनुमति मागेका छन् ।
३ अर्ब ६३ करोडको आईपीओ आउँदै
एपेक्सले २४ लाख कित्ता शेयर आईपीओ बिक्रीको अनुमति मागेको छ । यस कम्पनीले प्रतिकित्ता १०० रुपैयाँको २४ करोड रुपैयाँ बराबरको आइपीओ बिक्रीको लागि अनुमति मागेको हो । त्यस्तै, होटल फरेस्टले ९८ करोड रुपैयाँ बराबरको ९८ लाख कित्ता शेयर बिक्रीका लागि अनुमति मागेको छ । त्यसैगरी, अर्चिडले १ अर्ब १५ करोड रुपैयाँ बराबरको १ करोड १५ लाख कित्ता शेयर बिक्रीको अनुमति मागेको छ ।
यसबाहेक, आकामा होटलले ४५ लाख कित्ता शेयर बिक्रीको योजना बनाउँदै अनुमति मागेको छ । अनुमति पाएपछि कम्पनीले प्रतिकित्ता ५० रुपैयाँमा शेयर बिक्री गर्ने गरी २२ करोड ५० लाख रुपैयाँको शेयर बिक्री गर्नेछ । त्यस्तै, ठमेल प्लाजाले १० करोड रुपैयाँ बराबरको १० लाख कित्ता, वर्णबासले ३ करोड ९६ लाख रुपैयाँ बराबरको ३ लाख ९६ हजार कित्ता, अन्नपूर्ण केबलकारले ३१ करोड रुपैयाँ बराबरको ३१ लाख कित्ता शेयर बिक्रीको योजना बन्दै अनुमति मागेको छ । बन्दीपुर केबलकारले ३० करोड ६० लाख रुपैयाँ बराबरको ३० लाख ६० हजार कित्ता र माउन्टेन ग्लोरीले ४० करोड रुपैयाँ बराबरको ४० लाख कित्ता शेयर बिक्रीका लागि अनुमति मागेको छ ।

दोस्रो बजारमा कुन कम्पनीको कति शेयर सूचीकृत ?
नेप्सेमा सूचिकृत कम्पनीहरू मध्ये सिटी होटलको १ अर्ब ६७ करोड ४० लाख रुपैयाँको १ करोड ६७ लाख ४० हजार कित्ता शेयर सूचिकृत छ । त्यस्तै, कालिन्चोक दर्शनको ६० करोड रुपैयाँको ६० लाख कित्ता शेयर सूचिकृत छ । यस्तै, सोल्टी होटलको १ अर्ब २१ करोड ८६ लाख २६ हजार ९० रुपैयाँको १ करोड २१ लाख ८६ हजार २ सय ६९ कित्ता शेयर सूचिकृत छ ।
त्यसैगरी, चन्द्रागिरि हिल्सको १ अर्ब ५३ करोड ४० लाख ९१ हजारको १ करोड ५३ लाख ४० हजार ९ सय १० कित्ता शेयर सूचिकृत छ । त्यस्तै, ओरियन्टल होटलसको १ अर्ब १८ करोड ४४ लाख ९५ हजार रुपैयाँको १ करोड १८ लाख ४४ हजार ९ सय ५० कित्ता शेयर सूचिकृत छ । र तारागाँउ रिजेन्सी होटलको १ अर्ब ९६ करोड २१ लाख २० हजार २ सय रुपैयाँको १ करोड ९६ हजार २१ हजार २ सय २ कित्ता शेयर सूचिकृत छ।
यस्तो छ सूचीकृत कम्पनीको लाभांश ‘हिस्ट्रि’
दोस्रो बजारमा ६ वटा कम्पनी होटल तथा पर्यटन समूहमा सूचीकृत भएपनि यी कम्पनीको लाभांश दिने क्षमतामा भने प्रश्न उठ्दै आइरहेको छ । किनकी, सूचीकृत कम्पनीमध्ये ३ वटाले मात्रै लाभांश दिन सक्ने क्षमता देखिएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)को तथ्यांकअनुसार सोल्टी, ओरियन्टल र तारागाउँ रिजेन्सीले मात्रै लगानीकर्ताका लागि लाभांश घोषणा गरेका छन् । यीबाहेक अन्य कम्पनीले हालसम्म लाभांश दिएका छैनन्।
होटल एण्ड टुरिज क्षेत्रका कम्पनीहरुमध्ये सबैभन्दा बढी लाभांश घोषणा गर्नेमा सोल्टी होटल्स रहेको छ । यस कम्पनीले आर्थिक वर्ष २०८०/८१ मा ३६ प्रतिशत लाभांश दिएको थियो । यस्तै, २०७९/८० मा ३१ प्रतिशत दिएको थियो । त्यसैगरी, तारागाँउ रिजेन्सीले आव २०८०/८१ मा ११ प्रतिशत र २०७९/८० सम्म १५ प्रतिशत लाभांश दिएको थियो भने ओरिएन्टलले २०८०/८१ मा ५.२६३१६ प्रतिशत र आव २०७९/८० मा ५ प्रतिशत लाभांश घोषणा गरेको थियो।






About Us
प्रतिक्रिया