काठमाडौं – प्रमुख सत्ताधारी दल नेपाली कांग्रेसले गभर्नर नियुक्ती प्रक्रियामा अड्को थापेपछि नेकपा एमालेले ‘प्लान बी’ अघि बढाएको छ । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलमार्फत प्रधानमन्त्री केपी शर्मा ओलीले ‘प्लान बी’ अघि सारेका हुन् ।
नेपाली कांग्रेससँग कुरा नमिल्दा चैत २४ गते नै नियुक्त भइसक्नुपर्ने गभर्नर पद खाली छ । दुई सत्ता साझेदार दलबीच कुरा नमिलेपछि नेकपा एमालेले नेकपा माओवादीसँग बजेट निर्माणको बहानामा नजिकिने प्रयास गरेको छ ।
यही रणनीतिअनुसार आज अर्थमन्त्री पौडेल माओवादी अध्यक्ष पुष्पकमल दाहालको निवासमा नै पुगेर छलफल गरे । छलफलका क्रममा बजेट निर्माण र बजेटमा समेट्नुपर्ने विषयबारे कुराकानी भएको भिनएको छ । तर, एकीन विषय बाहिर आइसकेको छैन ।
एमाले जुनसुकै हालतमा कायम मुकायम गभर्नर डा. नीलम ढुंगानालाई १८औं गभर्नर बनाउने योजनामा छ । नेपाली कांग्रेसको भागमा नेपाल बीमा प्राधिकरण र नेपाल स्टक एक्सचेञ्ज (नेप्से) लगायत निकाय परेका कारणले राष्ट्र बैंक आफ्नो भागमा पर्नुपर्ने एमालेको अडान छ ।
यस्तै, प्रधानमन्त्री र अर्थमन्त्री नै एउटै पार्टीका भएका कारणले गभर्नर जस्तो महत्वपूर्ण पद गुमाउन चाहँदैन । यता नेपाली कांग्रेस समेत गभर्नर पद आफ्नो भागमा पर्नुपर्ने जोडबलमा छ । ‘वेटिङ प्राइममिनिस्टर’कारुपमा रहेका शेरबहादुर देउवा डा. गुणाकर भट्टलाई गभर्नर बनाउन चाहन्छन् ।
निवर्तमान गभर्नर महाप्रसाद अधिकारी एमालेको कोटाबाट गभर्नर बनेकाले अबको गभर्नर कांग्रेसको कोटाबाट बन्नुपर्नेमा देउवा अडिग छन् । तर, यो विषय पेचिलो बन्दै जाँदा सत्ता साझेदारी नै धर्मराउन सक्ने देखिन्छ । अब देउवाले २०८३ को असारदेखि स्वत आउने प्रधानमन्त्रीको पद वा गभर्नरमध्ये कुनलाई महत्व दिन्छन् हेर्न बाँकी छ ।
एमालेले बजेटको बाहानामा दाहाल भेट्नु अघिदेखि नै कांग्रेस विकल्पको खोजीमा छ । यहीकारण, गभर्नर सिफारिस समितिबाट डा. नीलमको नाम नै सिफारिस गर्न कांग्रेसले अड्को थापिरहेको छ । सिफारिस समितिले अन्य दुई प्रतिस्पर्धीसँगै डा. नीलमको नाम समेत सिफारिस गरेमा प्रधानमन्त्री ओलीले सरकार नै दाउमा राखेर गभर्नर नियुक्त गर्ने जोखिम कांग्रेसले देखिरहेको छ ।






About Us
प्रतिक्रिया