सांसद नेपालीको सरकारलाई प्रश्नः पोखरा विमानस्थलको ‘ब्रह्मा लुट’ को पर्दाफास गर्नु पर्दैन ?


काठमाडौं – प्रतिनिधिसभा सदस्य शिव नेपालीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अनियमितता भएको विषय‘ काले–काले मिलर खाऊँ भाले’ भन्ने उखानजस्तै भएको बताएका छन्। सोमबारको प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै सांसद नेपालीले सरकारसँग प्रश्न गरे, ‘पोखरा विमानस्थलको ब्रह्मा लुटको सरकारले पर्दाफास गर्छ कि गर्दैन ?’।

उनले भने,’सरकारले चिनियाँ बैंकबाट २५ अर्ब ८८ करोड रुपैयाँ ऋण लिएको परियोजनामा २ अर्ब २२ करोड ४० लाख रुपैयाँ कर छुट दिइएको छ, त्यसमाथि थप २ अर्ब रुपैयाँ गैर कानुनी रूपमा भुक्तानी गरिएको छ। यसले स्पष्ट संकेत गर्छ कि यो परियोजना सुरु देखिनै केही स्वार्थ समूहको कब्जामा परेको थियो।’

२०७२ सालमा सम्झौता भएको यो परियोजना २०७३ मा सुरु भई २०७९ सालमा उद्घाटन गरिएको थियो, तर अहिलेसम्म सञ्चालनमा आउन सकेको छैन। नेपालीले पोखरा विमानस्थल जनताको भरोसामाथिको चोट भएको भन्दै दोषीमाथि कारबाहीको माग गरेका छन्। उनले जोड दिँदै भने, ‘भ्रष्टाचारमा संलग्न सबैलाई कानुनी दायरामा ल्याइनुपर्छ।’