बैंक खाता अद्यावधिक गर्न प्राइम कमर्सियल बैंकले गर्‍यो आफ्ना शेयरधनीलाई आग्रह

बैंक खाता अद्यावधिक गर्न प्राइम कमर्सियल बैंकले गर्‍यो आफ्ना शेयरधनीलाई आग्रह


बैंकिङ्ग समाचार, काठमाडौं ।
प्राइम कमर्सियल बैंक लिमिटेडले लाभांश पारित गर्नुअघि नै शेयरधनीहरूलाई बैंक खाता अद्यावधिकका लागि अनुरोध गरेको छ । बैंकले मंगलवार सूचना जारी गर्दै पुस २८ गते पारित गर्न लागेको नगद लाभांश प्राप्त गर्न बैंक खाता अद्यावधिक गर्न बाँकी सदस्यहरूलाई यथाशीघ्र गराउन अनुरोध गरेको हो । 

यस वर्ष बैंकले कुल ८ दशमलव ९५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । बैंकले गत वर्षको मुनाफाबाट हाल कायम चुक्तापूँजीको आधारमा ४ प्रतिशत बोनस शेयर र कर प्रयोजन समेतका लागि ४ दशमलव ९५ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको हो । बैंकले साधारण सभा प्रयोजनका लागि पुस १४ गते एक दिन बुक क्लोज गरेको छ । बुक क्लोजको आधारमा पुस १३ गतेसम्म कायम शेयरधनीहरूले बैंकको लाभांश प्राप्त गर्नेछन् । 

पछिल्लो समय धितोपत्र कारोबार पूर्ण अनलाइन प्रणालीमार्फत हुँदै आएको अवस्थामा कम्पनीको नगद लाभांशसमेत सम्बन्धित शेयरधनीहरूको बैंक खातामै जम्मा हुने व्यवस्था छ । यसर्थ बैंकले नगद लाभांश प्राप्तिका लागि आवश्यक सम्पूर्ण तयारी पूरा गर्न भनेको हो । 

हालसम्म पनि आफ्नो शेयर भौतिकरूपमा धारण गरेर बसेका सदस्यहरूलाई शेयर अभौतिकीकरणका लागि समेत बैंकले आग्रह गरेको छ । बुक क्लोकको अवधिसम्म आफ्नो शेयर धितो राखी कर्जा लिएका शेयरधनीहरूको हकमा सम्बन्धित बैंक तथा वित्तीय संस्थाबाट नो अब्जेक्सन लेटर प्राप्त भएपछि मात्र नगद लाभांश बैंक खातामा जम्मा हुने भएकाले सो लेटर पेस गर्नसमेत बैंकले भनेको छ । साथै कर्जा चुक्ता भुक्तानी गरिसकेका सदस्यहरूले फुुकुवा पत्र पेस गर्नसमेत बैंकले आग्रह गरेको छ । बैंकको शेयर रजिष्ट्रार सिभिल क्यापिटल मार्केट लिमिटेड रहेको छ ।