काठमाडौं – बैंकिङ्ग क्षेत्रमाथि मडाइरहेको खतराको बादल हट्नुपर्नेमा झनै जब्बर बन्न थालेको छ । घट्दो ब्याजदर, लगानीयोग्य रकम थुप्रिनु लगायतका चुनौती सुरुदेखि नै थिए । तर, यसमा खराब कर्जा र गैह्रबैंकिङ्ग सम्पत्ति समेत थप चुनौतीकारुपमा आउँदा खतराको घण्टी कायमै रहेको हो ।
यसले नेपालको बैंकिङ्ग क्षेत्र कता जाने भन्ने अनिश्चितता देखिएको छ । यता नेपाल राष्ट्र बैंकले नै पनि समष्टिगत आर्थिक अवस्थामा सुधारको संकेत देखिएको बताउँदै वित्तीय प्रणालीमा बढ्दो निष्क्रिय कर्जा र निरन्तर घटेको पुँजी पर्याप्तता अनुपातले चुनौती सिर्जना गरेको स्वीकारेको छ । राष्ट्र बैंकले सार्वजनिक गरेकाे आर्थिक वर्ष २०२३/२४ को ‘फाइनान्सियल स्टाबिलिटी रिपोर्ट’ मा कतिपय पक्षमा वित्तीय प्रणाली सुधार देखिँदा पुँजी पर्याप्तता अनुपातमा आएको निरन्तरको गिरावट र बढ्दो खराब कर्जा अनुपात चुनौती बनेको बताएको हो ।
‘यद्यपि, चुनौती नै नभएको भने होइन,’ रिपोर्टमा लेखिएको छ, ‘आर्थिक वर्ष २०२३/२४ को वार्षिक तथ्यांकले सकारात्मक प्रवृत्ति देखाएको छ ।’ अघिल्लो आर्थिक वर्षको तुलनामा न्यून मुद्रास्फीति, बलियो बाह्य क्षेत्र र कुल गार्हस्थ्य उत्पादन वृद्धिमा सुधार आएको राष्ट्र बैंकले जनाएको छ । बैंकिङ्ग प्रणालीमा पर्याप्त तरलता रहेको कारणले निक्षेप र ऋणको ब्याजदरमा गिरावट आएको छ । तर, ऋण वृद्धि भने अनुमानभन्दा न्यून छ । पछिल्लो तथ्यांकअनुसार बैंकिङ्ग क्षेत्रमा निष्क्रय कर्जा पनि उल्लेख्य बढेको छ ।
नेपाल राष्ट्र बैंकका प्रवक्ता तथा कार्यकारी निर्देशक रामु पौडेल भने बैंकिङ्ग क्षेत्र समस्यामा नरहेको बताउँछन् । बैंक तथा वित्तीय क्षेत्रका केही सूचकमा चुनौती रहेपनि समग्र बैंकिङ्ग क्षेत्र नै समस्यामा रहेको भन्न नमिल्ने उनको भनाइ छ । ‘राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई प्रत्येक दिन निगरानीमा राख्छ,’ उनले भने, ‘खराब कर्जा, गैह्रबैंकिङ्ग सम्पत्ति, कर्जा प्रवाह लगायत चुनौती रहेपनि समस्यामा छैन ।’ उनका अनुसार बैंक तथा वित्तीय संस्थाले सर्वसाधारणको पैसा फिर्ता गर्न सक्ने स्थिति रहे/नरहेको विषय मुख्य कुरा हो । सोहीकारण, बैंकहरु समस्यामा छैनन् ।
घटेन गैह्रबैंकिङ्ग सम्पत्ति, उल्टै बढ्यो
गैह्रबैंकिङ्ग सम्पत्ति बढ्दै जाँदा बैंकिङ्ग क्षेत्रमा एक किसिमको तनाव नै सिर्जना भएको छ । बैंक तथा वित्तीय संस्थाहरूको खराब कर्जा (एनपीएल) बढ्दै जाँदा पनि गैह्रबैंकिङ्ग सम्पत्ति पनि निरन्तर बढिरहेको छ । नेपाल राष्ट्र बैंकले पछिल्लो एक वर्षको समयमा बैंकहरुको गैह्रबैंकिङ्ग सम्पत्ति ७५ प्रतिशतले बढेको बताएको हो । राष्ट्र बैंकले प्रकाशित गरेको चालु आर्थिक वर्षको फागुनसम्मको तथ्यांकले बैंकहरुको गैह्रबैंकिङ्ग सम्पत्ति ४२ अर्ब ५ करोड बढी पुगेको छ । पछिल्लो एक वर्षको अवधिमा गैह्रबैंकिङ्ग सम्पत्ति १८ अर्ब ९ करोडले थपिएको राष्ट्र बैंकको तथ्यांकले देखाउँछ ।
ऋणीहरूले कर्जा समयमा नतिरेपछि बैंकहरुले धितो लिलामी गर्ने गर्छन् । आर्थिक मन्दी नहट्दा बैंकका ऋणीहरूले कर्जा तिर्न नसकेको अवस्थामा बैंकहरुले धितो अचल सम्पत्ति सकार्न र लिलामीको चाप परेको हो । यता बैंकहरु ऋणीबाट लिलामी गरेको धितो नै बेच्न नसकेर तनावमा छन् । धितो बिक्री नहुँदा बैंकहरुको गैह्रबैंकिङ्ग सम्पत्ति बढ्ने क्रम पनि रोकिन सकेको छैन ।
कुन बैंकको गैह्र बैंकिङ्ग सम्पत्ति कति ?
नेपाल राष्ट्र बैंकको तथ्यांकले बैंकहरुको गैरबैंकिङ्ग सम्पत्ति लगातार बढेको बताइरहेको समयमा वाणिज्य बैंकहरुको मात्रै पनि एक वर्षको अवधिमा गैरबैंकिङ्ग सम्पत्ति ८०.०५ प्रतिशत बढेको छ । त्यस्तै, राष्ट्र बैंककाअनुसार चालु आर्थिक वर्षको फागुनसम्म विकास बैंकहरुको गैरबैंकिङ्ग सम्पत्ति ३७.५६ प्रतिशत र फाइनान्स कम्पनीहरूको ७९.२० प्रतिशतले बढेको छ । चालु आर्थिक वर्षको फागुन मसान्तसम्म वाणिज्य बैंकहरुको गैह्रबैंकिङ्ग सम्पत्ति ३६ अर्ब २० करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसै अवधिमा वाणिज्य बैंकहरुको गैह्रबैंकिङ्ग सम्पत्ति २० अर्ब ११ करोड रुपैयाँ थियो ।
नेपाल राष्ट्र बैंकको तथ्यांङ्कअनुसार फागुनसम्म सञ्चालनमा रहेका २० वाणिज्य बैंकहरुमा सबैभन्दा बढी गैह्रबैंकिङ्ग सम्पत्ति हुनेमा ग्लोबल आईएमई बैंक रहेको छ । बैंकको ५ अर्ब ८८ करोड ३५ लाख गैह्रबैंकिङ्ग सम्पत्ति पुगेको छ । बैंकको अघिल्लो वर्ष २०८० फागुनमा भने यस्तो सम्पत्ति २ अर्ब ३९ करोड ५२ लाख रहेको थियो । त्यस्तै, धेरै गैह्रबैंकिङ्ग सम्पत्ति हुनेको दोस्रोमा हिमालयन बैंक रहेको छ । बैंकको गैह्रबैंकिङ्ग सम्पत्ति ४ अर्ब ५३ करोड ४८ लाख पुगेको हो । त्यस्तै, सबैभन्दा कम गैह्रबैंकिङ्ग सम्पत्ति हुनेमा नेपाल बैंक रहेको छ । बैंकको यस्तो सम्पत्ति २० लाख बढी रहेको छ ।

हाल बैंकिङ्ग प्रणालीबाट लगानी भएको कर्जा नउठ्दा निष्क्रिय कर्जा बढ्दो छ । यहि समयमा निष्क्रिय कर्जासँगै लोन लस प्रोभिजन पनि बढ्दै गएको राष्ट्र बैंकका कार्यकारी निर्देशकहरु नै बताउँछन् । उनीहरुकाअनुसार बैंकहरूको निष्क्रिय कर्जासँगै प्रोभिजन पनि बढ्दै गएको हो । बैंकर्स संघका पुर्व अध्यक्ष भुवन दाहाल बैंक तथा वित्तीय संस्था अवस्था बिग्रिएको बताउँछन् ।
उनकाअनुसार बैंक तथा वित्तीय संस्थाको खराब कर्जा, गैह्रबैंकिङ्ग सम्पत्ति र ‘लोन लस प्रोभिजनिङ्ग’ बढेको छ । कोरोनाको समयमा पुनः तालिकीकरण र पुनसंरचना गरेका कर्जाले हाल केही समस्या सिर्जना गरेको बताउँदै असारपछि सहज हुनसक्ने उनको भनाई छ । उनले लोन लस प्रोभिजनिङ्गलाई चाहिने जति रकम छुट्याउँदा बैंकको नाफा धेरै नहुने उल्लेख गरे ।
राष्ट्र बैंक नै भन्छ: उच्च जोखिममा बैंकिङ्ग क्षेत्र
नेपाल राष्ट्र बैंकको बैंक सुपरिवेक्षण विभागले जारी गरेको ‘बैंक सुपरिवेक्षण रिपोर्ट, २०२३/२४’ ले बैंकहरुले सीईओको कार्यसम्पादनमा ध्यान नदिँदा बैंक उच्च जोखिममा परेको उल्लेख गरेको छ । नेपाल राष्ट्र बैंकले पनि बढ्दो गैह्रबैंकिङ्ग सम्पत्ति बढ्दै गएको उल्लेख गर्दै खराब कर्जा र गैह्रबैंकिङ्ग सम्पत्ति बैंकिङ्ग क्षेत्रका प्रमुख समस्याकारुपमा देखा परेको बताएको छ । राष्ट्र बैंकले आर्थिक गतिविधिमा सुस्तता, निर्माण क्षेत्रमा मन्दी, ऋणलाई तोकिएको उद्देश्य बाहेक अन्य क्षेत्रमा प्रयोग गर्ने गरेका कारण खराब कर्जा र गैह्रबैंकिङ्ग सम्पत्ति बढेको राष्ट्र बैंकले बताउँदै आएको छ ।
यस्तै, हाल बैंकिङ्ग क्षेत्रमा रहेको अधिक तरलताले पनि वित्तीय क्षेत्रमा समस्या सिर्जना गरेको राष्ट्र बैंकको भनाइ छ । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट जाने कर्जामा गिरावट आउँदा बैंकिङ्ग प्रणालीमा अत्यधिक तरलता बसेको बताएको छ । त्यस्तै, राष्ट्र बैंकले बढ्दो निष्क्रिय कर्जाको प्रवृत्तिले पुँजी पर्याप्तता अनुपातमा थप दबाब सिर्जना गरेको, बैंकिङ्ग क्षेत्रमा संगठनबद्धरूपमा भ्रम फैलाउने गतिविधि बढेको, बैंकिङ्ग क्षेत्रमा ठगीका घटनाहरू बढ्दै गएको डिजिटल बैंकिङ्गको प्रयोग बढ्दै जाँदा जोखिम पनि बढेको बताउँदै आएको छ ।
प्रतिक्रिया