किन प्रभावकारी भएन शैक्षिक प्रमाणपत्र धितो कर्जा ?

किन प्रभावकारी भएन शैक्षिक प्रमाणपत्र धितो कर्जा ?


भावना अवस्थी, काठमाडौं ।
गत आर्थिक वर्षमा जम्मा १४० जनाले शैक्षिक प्रमाणपत्र धितोमा राखेर कर्जा लिएको तथ्याङकले देखाउँछ । अझ यस आर्थिक वर्षको असोज महिनासम्म जम्मा १५५ जनाले शैक्षिक प्रमाणपत्र धितोमा राखी सहुलियतपूर्ण कर्जा लिएका छन । सरकारले सहुलियतपूर्ण कर्जाको नाममा विभिन्न १० वटा शीर्षक छुट्याएको छ । त्यसमध्ये ‘शैक्षिक प्रमाणपत्र धितो कर्जा’ पनि एक हो । पाँच वर्षको लागि पाइने सहुलियतपूर्ण कर्जाका अन्य शीर्षकमा पनि सन्तोषजनक रुपमा कर्जा प्रवाह भइरहेको देखिदैन । 

उद्यमशीलतालाई प्रोत्साहन गर्न शैक्षिक योग्यताको प्रमाणपत्र धितोमा राखेर व्यक्तिलाई शैक्षिक ऋण उपलब्ध गराउने व्यवस्था त्यती प्रभावकारी बन्न सकेको छैन । केपी शर्मा ओली नेतृत्वको सरकारले स्नातक र स्नातकोत्तर पास गरेको प्रमाणपत्रका आधारमा बैंकहरूबाट ५ देखि ७ लाख रुपैयाँसम्म सहुलियत कर्जा उपलब्ध गराउने घोषणा गरेको थियो । तर, यस्तो कर्जा लिनेको संख्या एकदमै न्युन देखिन्छ । राष्ट्र बैंकका सह प्रवक्ता एवंम सूचना अधिकारी नारायण प्रसाद पोखरेलले चालु आर्थिक वर्षको असोजसम्ममा ५ करोड रुपैँया कर्जा यस विधामा स्वीकृत भएको जानकारी दिए । यसमा खुद राष्ट्र बैंकले नै यस किसिमको कर्जा त्यती प्रभावकारी नभएको स्वीकार्छ । 

कसरी लिन सकिन्छ शैक्षिक प्रमाणपत्र धितोमा राखेर कर्जा ? 
नेपाल बैंकर्स संघका अध्यक्ष एवंम कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्यायले स्नातक र स्नातकोत्तर पास भएका र २५ वर्ष नकटेका युवाले यो कर्जा लिन सक्ने बताए । प्राविधिक तथा व्यावसायिक शिक्षाका लागि पनि कर्जा लिन सकिने व्यवस्थामा उल्लेख भएको उनले बताए । त्यस्तै, घरेलु तथा साना उद्योग कार्यालय, प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद, सीप विकास तालीम केन्द्र लगायतका निकायबाट कम्तीमा ७ दिनको उद्यम वा व्यवसाय गर्ने सीप विकास तालिम अनिवार्य लिएको वा उक्त कर्जा स्वीकृत भएपछि त्यस्तो संस्थामा सीप विकास तालिम लिएको प्रमाणपत्र पेस गरेको हुनुपर्नेछ ।

यस्तो कर्जा लिन विपन्न, सीमान्तकृत समुदाय वा लक्षित वर्गको विद्यार्थी हुनुपर्नेछ । यसरी कर्जाका लागि योग्यहरूले बैंक तथा वित्तीय संस्थामा आवेदन दिनुपर्नेछ । आवेदन दिँदा ऋण फाराम, नागरिकता, शैक्षिक प्रमाणपत्रको सक्कल, सीप विकास तालिमको प्रमाणपत्र पनि समावेश गर्नुपर्छ ।

प्राविधिक शिक्षा कर्जाका लागि विपन्न, लक्षित वर्गको सिफारिस पनि राख्नुपर्नेछ । यसरी आवेदन दिएपछि बैंक तथा वित्तीय संस्थाले २१ दिनभित्र ऋण दिनेछन् । शैक्षिक कर्जा लिनका लागि कम्तीमा स्नातक तह उत्तीर्ण भएको र ४० वर्ष उमेर ननाघेको हुनुपर्नेछ । साथै यस्तो शैक्षिक प्रमाणपत्र धितो कर्जाको सीमा ७ लाख र उच्च शिक्षा अध्ययन कर्जाको सीमा ५ लाख रुपैयाँ हुनेछ । त्यस्तो कर्जा लिएका विद्यार्थीले थप अध्ययन गर्न चाहेमा सरकारले तोकिदिएको विषयको उच्च शिक्षा, इञ्जिनियरिङ सम्बन्धी विषय, पशु विज्ञान, स्वास्थ्य सम्बन्धित विषय, कृषि विज्ञान तथा अन्य प्राविधिक विषय अध्ययन गर्नुपर्ने व्यवस्था गरिएको छ । यसरी अध्ययन गर्न चाहेमा अध्ययन गर्दा लाग्ने खर्चको मूल्यांकन गरेर र व्यवसाय गर्न चाहेमा सोहीअनुसार योजना अध्ययन गरेर प्रत्येक व्यक्ति ५ लाखदेखि ७ लाखसम्म ऋण लिन सकिनेछ । यसरी प्राप्त गरेको कर्जामा सरकारले ५ प्रतिशत ब्याज भुक्तान गर्दछ । 

प्रक्रिया झन्झटिलो हुँदा समस्या ? 
सरकारले शैक्षिक प्रमाणपत्र धितो राखेर सहुलियतपूर्ण दरमा कर्जा दिने घोषणा गरेको भएपनि अहिलेसम्म विद्यार्थीले सहजै उक्त विषयमा कर्जा पाउन सकेका छैनन् । शिक्षित युवा स्वरोजगार कर्जा सहुलियतपूर्ण कर्जा भएकाले यो कर्जाको ब्याजदर ५ प्रतिशत मात्र विद्यार्थीले तिर्नु पर्ने हुँदा बैङ्क तथा वित्तीय संस्थाले ऋण प्रवाह गर्न चासो नदेखाउने गरेकोे विद्यार्थीहरुको गुनासो सुनिन्छ । सरकारले शिक्षित युवालाई स्वरोजगार बनाउने उद्देश्यले सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी एकीकृत कार्यविधि पारित गरेको थियो । उक्त कार्यविधिअनुसार केही विद्यार्थीले ऋण लिएको भएपनि धेरै विद्यार्थीले घोषणा गरेको यो कर्जा युवाले कस्तो व्यवसाय गर्ने हो कृषि, उद्योग, सेवा वा अन्य व्यवसाय त्यसको योजना र उद्यमशीलतासम्बन्धी कम्तीमा सात दिनको तालिम लिएको हुनुपर्छ । सो तालिम कर्जा लिएपछि पनि लिन सकिने व्यवस्था छ ।