काठमाडौं – बीमा क्षेत्रमा ‘फोर्ससेलिङ्ग’को प्रवृत्ति व्यापक बन्दै गएको छ । जसले ग्राहकहरूलाई हैरानीमा पारेको छ । बीमा कम्पनीहरूको अभिकर्ताहरुले अनावश्यक दबाब दिएर ग्राहकलाई ‘पोलिसी’ खरिद गर्न बाध्य पार्दा ‘फोर्ससेलिङ्ग’ बढेसँगै बीमा क्षेत्रकै बदमानी बढ्दै गएको छ । खासगरी, अभिकर्ताहरुकै चलिरहेको जीवन बीमा व्यवसाय उनीहरुकै कारण बदनाम बन्न थालेको हो ।
अभिकर्ताहरुले बीमालाई राम्रोसँग नबुझाएरै सर्वसाधारणलाई किन्न बारम्बार ‘फोर्स’ गरिरहेको गुनासो व्यापक बन्दै गइरहेको छ। तर, यो गुनासो सुन्नुपर्ने नेपाल बीमा प्राधिकरण भने यसतर्फ ध्यान नदिएर कानमा तेलमा बसिरहेको छ । यसले दक्ष अभिकर्ताहरुको क्षमतामा पनि प्रश्न उठाएको छ । विज्ञहरूका अनुसार, नियामक निकायको कमजोर अनुगमन र कम्पनीहरूको आक्रामक बिक्री रणनीतिका कारण यो समस्या चुलिएको हो ।
यस्तो प्रवृत्तिले दीर्घकालमा समग्र बीमा क्षेत्रको विश्वसनीयता सङ्कटमा पर्न सक्ने बीमा विज्ञ रविन्द्र घिमिरेले बताए । अभिकर्ताहरुले ग्राहकहरुसँग समन्वय नै नगरि पोलिसी बेच्न सक्दैनन् । तर, ग्राहकको रुची बिना नै बारम्बार सम्पर्क गरिराख्ने प्रवृत्तिले सेवाग्राही हैरान छन् । अभिकर्ताहरुले आफ्नो ‘टारगेट’ पूरा गर्नको लागि ग्राहकहरुलाई हैरानी हुनेगरी सम्पर्क गर्ने नीतिबाट व्यवसाय वृद्धिमा अल्पकालिन प्रभाव देखिएपनि दिर्घकालिन समस्या थप्दै जान्छ ।
यो प्रवृत्तिले बीमा ‘सरेण्डर’ बढ्नुका साथै नियामकीय भूमिकामा रहेको प्राधिकरणको बेवास्ता समेत बढ्दो छ । बीमालेख बिक्रीपछि अभिकर्ताले कम्पनीबाट प्रोत्साहन रकम पाउने व्यवस्थाका कारण सेवाग्राहीले ‘फोर्ससेलिङ्ग’ खेप्नुपरेको हो । तर, आफनो स्वार्थ मात्र हेरेर पोलिसी राम्रोसँग नबुझाई बिक्रि गर्ने प्रवृतिलाई नियामकले भने ध्यानपुर्वक हेरेको छैन ।
अव्यवसायीक अभिकर्ताको फोनले हैरानी, दक्ष अभिकर्ता मारमा
जीवन बीमा कम्पनीहरूको अधिकतम पोलिसी बिक्री अभिकर्ताहरूले नै गर्ने गर्छन् । अझ यसलाई जीवन बीमाको व्यापार अभिकर्ताहरूबाट नै चलेको छ पनि भन्न सकिन्छ । बीमालेख किन्ने/नकिन्ने सर्वसाधारणको रुचिको कुरा हो । तर, केही सर्वसाधारणलाई कम्पनीका अभिकर्ताले गर्ने पटक–पटकको फोन र म्यासेजले हैरानी थपेको छ ।
‘हामीले बीमा गर्दैनौ या बीमा पोलिसी छ यो नकिन्ने भनेर भनिरहँदा पनि बारम्बार सम्पर्क (फोन म्यासेज आउँदा) गर्दा दिक्क लागिरहेको हुन्छ,’ आफ्नो र कम्पनीको परिचय नखोल्ने सर्तमा बैंकिङ्ग समाचारसँगको कुराकानीमा एक सर्वसाधारणले भने। बारम्बार सम्पर्क गर्न आवश्यक नहुँदा पनि निरन्तर गरिराख्नु गलत हो ।
तर, यस्तो प्रवृत्ति मौलाउँदा अभिकर्ताहरूले पोलिसी किन्न नचाहने ग्राहकहरूलाई बारम्बार जबरजस्ती सम्पर्क गरिराख्ने प्रवृत्तिले दक्ष अभिकर्ताहरूलाई पनि अप्ठ्यारो सिर्जना भएको छ । बीमाको सबै गतिविधिको विषयमा नेपाल बीमा प्राधिकरणले यस्ता गतिविधिमा कडाइ गर्ने बताए पनि प्रभावकारी कदम भने चालिएको छैन ।
ग्राहकहरूले नियामक निकायको सक्रियता र पारदर्शी नीतिको माग गरिरहेका छन्। यस समस्याको समाधान नभए उद्योगको बदनाम अझै चुलिने र ग्राहकको भरोसा पूर्ण रूपमा गुम्ने खतरा रहेको छ । नेपाल बीमा प्राधिकरणको निर्देशक पूजन ढुंगेल अभिकर्ताहरूले ग्राहकहरूलाई सम्पर्क नगरेसम्म पोलिसी बेच्न पनि गाह्रो रहेको बताउँछिन् ।
ग्राहकलाई बुझाउने कुरामा यसलाई नै दबाब सोचिएको हिको भन्न पनि सकिने उनको जिकिर छ । ‘सबै अभिकर्ताहरूले यस्तो गर्नु हुँदैन धेरै जना दक्ष अभिकर्ताहरूले बीमाको पहुँच बढाउनको लागि उल्लेख्य भूमिका खेलिरहेका छन्,’ उनले भनिन् । यस्तै, बीमा क्षेत्रमा अभिकर्ताहरूको काम र मिहिनेतले बीमा क्षेत्र केही सुधार हुँदै गइरहेको सिटिजन्स लाइफ इन्स्योरेन्सको क्षेत्रीय प्रमुख विष्णु सापकोटा बताउँछन् ।
‘फोर्ससेलिङ्ग’का कारण बढ्यो ‘पोलिसी सरेण्डर’
बीमा क्षेत्रमा सरेण्डरको घटना बढ्दै गइरहेको छ । समय नपुग्दै बीमालेख त्याग्नुको कारण बीमाको विषयमा नबुझेर वा फोर्ससेलिङ्गमा परेर भन्ने विषयमा नियामकले ध्यान दिन सकेको छैन । चालु आर्थिक वर्ष २०८१/०८२ को फागुन मसान्तसम्मको अवधिमा जीवन बीमा कम्पनीहरुबाट झण्डै १० अर्ब रुपैयाँको बीमा पोलिसी सरेण्डर भएको छ ।
बीमा प्राधिकरणले उपलब्ध गराएको वित्तीय विवरणअनुसार चालु आर्थिक वर्षको ८ जीवन बीमा कम्पनीहरूबाट ९ अर्ब ८७ करोड ६३ लाख ६३ हजार रुपैयाँको बीमा पोलिसी भएको हो । तथ्यांक अनुसार विभिन्न जीवन बीमा कम्पनीहरूबाट बीमितहरुले ७१ हजार ५५४ वटा बीमा पोलिसी सरेण्डर गरेका छन् । यसरी पोलिसी त्याग्नेको सख्या बढ्नु समग्र बीमा बजारको लागि नराम्रो हो । यसमा अभिकर्ताहरूले बीमा बुझाउन नसकेर सरेण्डर भइरहेको पनि बुझ्न सकिन्छ ।
प्रतिक्रिया